सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

काठमाडौंमा बजाजको पहिलो इलेक्ट्रिक स्कुटर ‘चेतक ३५०१’ सार्वजनिक, मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ

काठमाडौंमा बजाजको पहिलो इलेक्ट्रिक स्कुटर ‘चेतक ३५०१’ सार्वजनिक, मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ

 

१९ साउन, काठमाडौं । बजाजले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ‘चेतक ३५०१’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गर्दै यो स्कुटर लन्च गरेको हो। भारतबाहिरको पहिलो बजारका रूपमा नेपाललाई रोज्दै बजाजले आफ्नो इभी यात्राको नयाँ अध्याय सुरू गरेको घोषणा गरेको छ।

बजाज चेतक ३५०१ मा ३.५ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ, जसले एकपटकको चार्जमा अधिकतम १५३ किलोमिटर दूरी तय गर्न सक्छ। यसमा फास्ट चार्जिङ टेक्नोलोजीको सुविधा पनि उपलब्ध छ, जसले शून्यदेखि ८० प्रतिशत चार्ज गर्न करिब ३ घण्टा लाग्छ। कम्पनीका अनुसार, यो स्कुटर नेपालको सहरी तथा सहरोन्मुख क्षेत्रका लागि अत्यन्त उपयुक्त छ।

फुल-मेटल बडी डिजाइन र आईपी ६७ रेटेड वाटर रेजिस्टेन्ससहितको यो स्कुटर नेपाली मौसमअनुकूल हुने दाबी गरिएको छ। यसको ‘अल–न्यु फ्लोरबोर्ड ब्याट्री डिजाइन’ले गर्दा सेग्मेन्टमै सबैभन्दा ठूलो ३५ लिटरको अन्डर सिट स्टोरेज सुविधा उपलब्ध गराएको छ, जसले सवारीलाई अझ सहज र आरामदायी बनाउने कम्पनीको विश्वास छ।

स्कुटरमा इन्टिग्रेटेड नेभिगेसन, म्युजिक कन्ट्रोल, डकुमेन्ट स्टोरेज, कल ह्यान्डलिङ लगायतका सुविधा उपलब्ध रहेको स्मार्ट टीएफटी टचस्क्रिन कन्सोल राखिएको छ। साथै, टेकप्याकमार्फत विभिन्न इन्टेलिजेन्ट फिचरहरू अनलक गर्न सकिने पनि जानकारी दिइएको छ। एड्भान्स्ड सेफ्टी फिचरहरूमा रिमोट इम्मोबिलाइजेसन, गाइड–मी–होम लाइट्स, जिओ–फेन्सिङ, एन्टी–थेफ्ट प्रोटेक्सन र एक्सिडेन्ट डिटेक्सन जस्ता प्रविधिहरू समावेश छन्।

बजाज अटोको एसिया क्षेत्रका एक्सपोर्ट बिजनेस युनिटका भाइस प्रेसिडेन्ट मनिस थापरले चेतक ३५०१ को नेपाल लन्चलाई भारतबाहिर बजाजको इभी विस्तारको महत्वपूर्ण प्रयासका रूपमा व्याख्या गरे। क्लासिक चेतक शैलीमा तयार पारिएको यो स्कुटरले नयाँ पुस्ताका टेक-सेभी ग्राहकहरूलाई अत्याधुनिक प्रविधि अपनाउन प्रेरित गर्ने उनले बताए।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बजाज चेतक ३५०१ लाई नेपालमा लन्च गर्नु गौरवको विषय भएको बताए। उनले यो स्कुटर इलेक्ट्रिक मोबिलिटीतर्फको गम्भीर प्रतिबद्धता र बजाजसँगको दिगो सहकार्यको प्रतीक भएको उल्लेख गरे।

ग्राहकहरूलाई चेतक ३५०१ को अनुभव प्रदान गर्न काठमाडौंको नक्सालमा अत्याधुनिक ‘कस्टमर एक्सपेरियन्स जोन’ निर्माण गरिएको छ। इच्छुक उपभोक्ताले विभिन्न आधिकारिक डिलरमार्फत स्कुटरको बुकिङ गर्न सक्नेछन्। यसको मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ।

यो स्कुटर आगामी साउन २१ गतेदेखि आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्सपो’मा पनि प्रदर्शन गरिने बताइएको छ। बजाज चेतक ३५०१ नेपाली बजारमा वातावरणमैत्री र प्रविधिसम्पन्न सवारीको रुपमा स्थापित हुने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend