१८ साउन,काठमाडौं ।नेपालले खाद्य सुरक्षाका क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गर्दै नेपालकै सबैभन्दा ठूलो प्रमाणित खाद्य प्रयोगशालाको हैसियत प्राप्त गरेको छ। विभागले नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन लेबोरेटोरीज (NABL) बाट ८१४ वटा परीक्षण प्यारामिटरमा एक्रिडिटेशन (प्रत्यायन) प्राप्त गर्दै मुलुकको खाद्य परीक्षण प्रणालीलाई नयाँ उचाइमा पुर्याएको हो।
यस ऐतिहासिक उपलब्धिको औपचारिक जानकारी विभागले आइतबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत दिएको हो। पत्रकार सम्मेलनमा विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले परीक्षण प्यारामिटरको विस्तृत विवरण प्रस्तुत गर्दै, कुल ८१४ परीक्षण प्यारामिटरमध्ये ६७२ केमिकल र १४२ माइक्रोबायोलोजिकल परीक्षणमा प्रयोगशालाले प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको जानकारी दिनुभयो।
महर्जनका अनुसार, नेपाल र भारतबीच भएको द्विपक्षीय समझदारीका आधारमा, भारतको फुड सेफ्टी एण्ड स्ट्यान्डर्ड्स अथोरिटी अफ इण्डिया (FSSAI) ले २०८१ साल चैत्र २२ गतेदेखि नेपालले जारी गर्ने खाद्य परीक्षण तथा गुणस्तर प्रमाणपत्रलाई आधिकारिक मान्यता दिएको छ। यसले नेपालको खाद्य निर्यातमा ठूलो सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ। विशेष गरी भारततर्फ हुने खाद्य सामग्रीको निर्यातमा अब अतिरिक्त परीक्षण प्रक्रिया आवश्यक नपर्ने हुँदा नेपाली उत्पादक र निर्यातकर्ताहरूलाई ठूलो राहत मिल्ने देखिन्छ।
प्रवक्ताले प्रारम्भिक चरणमा ८ प्रकारका खाद्य वस्तुहरू—जसमा जुस, जाम, जेली, अचार, क्यान्डी, तयारी चाउचाउ, अदुवा, ताजा फलफूल तथा तरकारी पर्दछन्—यिनीहरूमा प्रयोगशालाबाट प्रदान गरिने प्रमाणपत्रलाई मान्यता दिने निर्णय गरिएको जानकारी दिनुभयो। साथै, २२ वटा खाद्य तथा दाना समूहअन्तर्गत पर्ने सबै प्रकारका केमिकल र सूक्ष्मजीवसम्बन्धी परीक्षण प्यारामिटरहरूमा पनि प्रयोगशालाले प्रत्यायन प्राप्त गरिसकेको उल्लेख गर्नुभयो।
महर्जनका अनुसार, यो उपलब्धिले नेपालको खाद्य परीक्षण प्रणालीलाई अन्तरराष्ट्रिय स्तरमा विश्वसनीय बनाउने कार्यमा टेवा पुर्याउनेछ। विदेशी बजारमा नेपाली खाद्य वस्तुहरूको पहुँच सजिलो बनाउने, गुणस्तरीय निर्यात प्रोत्साहन गर्ने र आयात नियन्त्रणलाई समेत व्यवस्थित गर्ने सम्भावना बढेको छ।
नेपालमा हालसम्म प्रयोगशालागत परीक्षणको सीमित पहुँच, ढिला प्रक्रिया र अन्तरराष्ट्रिय मान्यताको अभावका कारण घरेलु उद्योगले कठिनाइ व्यहोर्दै आएका थिए। तर यो प्रत्यायनसँगै खाद्य सुरक्षाको क्षेत्रमा गुणात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ। यो उपलब्धिले सरकारी नीति, नियमन प्रणाली र प्रविधिको प्रयोगमा सुधार ल्याउँदै नागरिकको स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी कदमका रूपमा समेत लिइएको छ।
यसैबीच, विभागले निकट भविष्यमा अन्य खाद्य वस्तुहरूमा पनि प्रयोगशालाको प्रमाणपत्रलाई अन्तरराष्ट्रिय मान्यता दिने दिशामा काम भइरहेको जानकारी दिएको छ। यसले देशभरका कृषक, उद्योगी र उपभोक्ता सबैका लागि सकारात्मक प्रभाव पार्ने देखिन्छ।
नेपालले यो प्रत्यायनसहित एक बहुप्रतीक्षित उपलब्धि हासिल गरेको हो, जसले मुलुकको खाद्य सुरक्षाको विश्वसनीयता प्रमाणित गर्नुका साथै निर्यात प्रवर्द्धनमार्फत आर्थिक विकासमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend