१६ साउन,काठमाडौं । वैदेशिक रोजगार बोर्डले विदेश जाने नेपाली कामदारहरूको सुरक्षालाई प्राथमिकता दिँदै, तालिम अनिवार्य र उद्यमशीलता प्रोत्साहनमा आधारित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारेको नयाँ रणनीति सार्वजनिक गर्दै, बिना सीप विदेश जाने प्रवृत्तिका कारण धेरै नेपालीहरू कार्यस्थलमै ज्यान गुमाइरहेको गम्भीर तथ्य प्रस्तुत गरेको छ ।
बोर्डका अनुसार, गएको आर्थिक वर्षमा ८ लाख ३९ हजारभन्दा बढीले श्रम स्वीकृति पाए पनि, १ हजार १ सय ८० जना नेपालीले विदेशमै ज्यान गुमाएका थिए । तीमध्ये १ हजार २ सय ५० जना मृतकका परिवारलाई बोर्डले आर्थिक सहयोग दिएको जनाएको छ । यस्ता मृत्युहरूको प्रमुख कारण भनेको विदेशमा पुगेर गर्नुपर्ने कामको प्रवृत्ति नेपालमा सिकेको भन्दा भिन्न हुनु, आवश्यक सुरक्षा सामग्रीको अभाव र कामदारहरूमा चेतनाको कमी रहेको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बताए ।
बोर्डले वैदेशिक रोजगारीमा जाने प्रत्येक नेपालीले श्रम स्वीकृति लिनुअघि अनिवार्य सीपमूलक तालिम लिनुपर्ने कानुनी प्रावधानलाई कडाइका साथ पालना गरिनुपर्नेमा जोड दिएको छ । पछिल्लो समय श्रमिकहरू जेल पर्नुमा लागूऔषध, मदिरा सेवन, तथा कानुनी प्रक्रियामा जान नचाहने प्रवृत्तिको योगदान रहेको बोर्डको भनाइ छ । बजेट भएर पनि यस्तो व्यवहारले गर्दा सहायता खर्च हुन नसकेको जनाइएको छ ।
यसबाहेक, बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वदेशमै उद्यम गर्न प्रोत्साहन गर्नका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरेको छ । कार्यकारी निर्देशक उप्रेतीले भने, “वैदेशिक रोजगारीबाट फर्किएर उद्यम थालेका युवायुवतीलाई प्रोत्साहन गर्न ‘रिटर्नी उद्यमी आइडल’ नामक कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।”
गत वर्ष मात्र १४ हजार ४ सय ५८ जनालाई बोर्डले विभिन्न किसिमका सीपमूलक तालिम दिएको थियो । साथै, श्रमाधान कल सेन्टर, टेलिमेडिसिन सेवा र सचेतनामूलक कार्यक्रमहरूमार्फत बोर्डले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हितमा काम गरेको दाबी गरिएको छ । अंगभंग तथा बिरामी भएका ६ सय ९८ कामदार र स्वास्थ्योपचारमा सहयोग आवश्यक भएका २ सय ७५ जना श्रमिकका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको पनि बोर्डले जानकारी दिएको छ ।
बोर्डले ३ हजार ९ सय ९० जना कामदारका छोराछोरीलाई छात्रवृत्ति दिएको र विदेशमा अलपत्र परेका ७० जना नेपालीको शव स्वदेश फिर्ता ल्याएको जनाएको छ । यस्तै, साउदी अरबमा कानुनी प्रक्रिया जटिल भएका कारण शव ल्याउन ढिलाइ भइरहेको बोर्डले स्पष्ट पारेको छ ।
अब संघीय र प्रदेश सांसदहरूका लागि वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ । साथै, वैदेशिक रोजगारका विषयमा लेख्ने पत्रकारलाई पुरस्कार दिने योजना पनि बोर्डले सार्वजनिक गरेको छ ।
बोर्डका निर्देशक गुरुदत्त सुवेदीले सबै सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्यलाई अझ बलियो बनाउँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सुरक्षा सुनिश्चित गरिने प्रतिवद्धता जनाए ।
वैदेशिक रोजगारीले लाखौं नेपाली परिवारको जीवनयापन सहज बनाएको भए पनि, उचित तालिम, सुरक्षा र सचेतनाको अभावले यो अवसर जोखिममा परिणत हुन थालेको सन्देश बोर्डको नीति तथा कार्यक्रममा स्पष्ट झल्किएको छ । अब तालिम, सहयोग, समन्वय र उद्यमशीलताको माध्यमबाट कामदारको जीवन रक्षा र समृद्धिको बाटो खोज्ने बेला आएको देखिन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend