२३ साउन ,काठमाडौँ । मंगलबार सेयर बजार हालसम्मकै सबैभन्दा बढी अर्थात् एक सय ४५ अंकले घट्यो। एकै दिन यति ठूलो अंकले सेयर परिसूचक नेप्से घटेको यो हालसम्मकै पहिलो भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।
यसअघि ०७७ मंसिर २१ आइतबार एकै दिन नेप्से एक सय २३.३५ अंकले घटेको थियो । सोमबार करिब ४१ अंकले बढेर दुई हजार सात सय ९६ अंकमा बन्द भएको नेप्से परिसूचक मंगलबार एक सय ४५.०५ अंक अथवा ५.१८ प्रतिशत घटेर दुई हजार छ सय ५१.३२ अंकमा ओर्लेको छ ।
अर्कोतर्फ सबैभन्दा बढी कारोबार अर्थात् २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको किनबेच भयो । कारोबार सुरु भएदेखि नै खरिदको तुलनामा बिक्री चाप बढी भएपछि उच्च अंकले गिरावट आएको छ । नेपाली सेयर बजारमा मंगलबार एकै दिन दुईवटा नयाँ रेकर्ड कायम भएको छ ।
मंगलबार सेयर बजारको गिरावटलाई फरक–फरक विश्लेषण गरिएको छ । कसैले छोटो समयमा करिब सात सय अंक बजार बढिसकेकाले अहिले ‘करेक्सन’ (लामो वृद्धि वा गिरावटपछि सेयर बजारले लिने विपरीत दिशा) भएको भन्दै आएका छन् भने केहीले सरकारबाट हस्तक्षेप हुन सक्ने आशंका पनि गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सेयर बजार अस्वाभाविक रूपमा बढिरहेको र सरकारले त्यसलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका थिए । सदनमा सांसदहरूको दबाब बढ्दै गएमा सरकारले सेयर बजारलाई हस्तक्षेप गर्न सक्ने अनुमान पनि लगानीकर्ताहरूले गर्न थालेका छन् ।
सोमबारको बैठकमा सेयर बजारमा अस्वाभाविक कारोबार देखिएको भन्दै पूर्वअर्थमन्त्री प्रकाशशरण महत र सांसद अमरेश कुमार सिंहले प्रश्न गरेका थिए।
मंगलबार कारोबारमा आएकामध्ये ८ कम्पनीको सेयर मूल्य बढ्यो, २ सय ३३ कम्पनीको घट्यो र बाँकी एक कम्पनीको स्थिर रह्यो
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend