काठमाडौं, १६ साउन ।ललितपुर महानगर पालिकाले “शैक्षिक सम्मान कार्यक्रम -२०८० ” अन्तर्गत महानगरभित्र संचालित स्कुलबाट यस वर्षको माध्यमिक विद्यालय परीक्षा (एसईई) मा उत्कृष्ट अंक ४ जिपिए (औसत स्तरिकृत अंक ४ ) ल्याउने विद्यालय तथा विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।

साउन १६ गते मंगलवार ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उत्कृष्ट अंक ल्याउने ८ विद्यालयलाई प्रति विद्यालय चार लाख र ती विद्यालयका १४ जना विद्यार्थीलाई जनही दुई लाखका दरले पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रममा विद्यार्थीहरुका अभिभावक तथा प्रधानाध्यापकहरुको पनि उपस्थिति थियोे । पुरस्कृत र सम्मानित हुनेमा जेम्स स्कुलका मात्रै ८ जना विद्यार्थी रहेका छन ।

ललितपुर महानगरका जेम्स, सेन्टमेरिज, नाईटिङ्गेल , डिएभी सुशील केडिया , लिटल एन्जेल्स र ब्राईट फ्यूचर स्कुलले उत्कृष्ट अंक ल्याएकोमा सम्मान पाएका छन् । सम्मान तथा पुरस्कार समारोहलाई सम्बोधन गर्दै महानगरपालीका प्रमुख चिरिबाबु महर्जनले आफ्नो दोस्रो पटकको चुनावको जीतको खुसीको उत्सवमा महानगरपालीकाबाट जीपीए ४ ल्याएका विद्यार्थीहरुसँग मनाएको स्मरण गरे। ललितपुर महानगरपालिकालाई उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा विकास गर्नको लागि यहाँका विद्यालय र विद्यार्थीहरुलाई आगामी वर्षहरुमा पनि यसरी नै उत्प्रेरित गरिने उनले बताए ।
नगरप्रमुख महर्जनले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको लागि पनि विशेष कार्यक्रम ल्याइएको बताए ।
उत्कृष्ट सम्मान प्राप्त गर्ने विद्यालयको तर्फबाट जेम्स स्कुलका संस्थापक प्रधानाध्यापक राजेश खडकाले शैक्षिक नतिजामा उत्कृष्टताको साथै विद्यार्थीहरुको असल चरीत्र निर्माणमा पनि विद्यालय र अभिभावकहरुले उत्तिकै ध्यान दिनु आवश्यक रहेकोमा जोड दिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend