काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्ना जीवन नाफाको भएको बताएका छन । ७१ वर्ष लागिसकेकाले अब कार्यकारी पदमा दाबी नगर्ने र देश, रा्ष्ट्रियता र कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा काम गर्ने उनले बताए । उनले आफूले एमाले फुटाएको नभई विद्रोह गरेको बताए ।
नवौं महाधिवेशनपछि अहंकारी गुटले एमालेको नेतृत्व कब्जा गरेको र अध्यक्ष ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नु परेको उनले बताए । भारतमा उपचार गरेर सोमबार स्वदेश फर्किएका नेता खनालले भने, ‘विद्रोह नवनिर्माणका निम्ति हो ।’
सोमबार अपरान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका पूर्व प्रधानमन्त्री खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल, राजेन्द्र पाण्डेलगायतका नेताहरु पुगेका थिए ।
विमानस्थलबाट बाहिरिँदा खनाल ह्वील चेयरमा बसेका थिए । विमानस्थलमा खनालको तर्फबाट एकीकृत समाजवादीका नेता प्रमेश हमालले विज्ञप्ति वाचन गरेका थिए । पछि खनालले ह्वीलचेयरमै बसेर सम्बोधन गरेका थिए ।
मिर्गौलामा समस्या देखिएपछि खनाल असार २ गते उपचारका लागि दिल्ली गएका थिए । उनी करिब साढे २ महिनापछि स्वदेश फर्किएका हुन् ।
आफ्नो उपचारमा सहयोग गरेकामा खनालले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल, हालका प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र सत्तारुढ गठबन्धनका नेताहरुलाई धन्यवाद दिए ।
‘पछिल्लो सर्जरीपछि विल्कुलै नयाँ जीवन प्राप्त गरेको छ, यो मेरो जीवन नाफाको जीवन हो, बोनसको जीवन हो । ७१ वर्ष पार गरिसकेँ । सास रहुन्जेल, देश, राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विकास, विस्तार र सुदृढिकरणमा लगाउँछु’ उनले भने ।
खनालले आफूलाई पत्नीकी दिदीकी छोरी मेरिना चित्रकारले मिर्गौला दिएको जानकारी पनि दिए । मिर्गौला प्रत्यारोपणपछि आफूले पहिले भन्दा पनि ताजा महसुस गरेको खनालले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend