शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

महन्थ ठाकुर नेतृत्वको लोसपाले पायो दलको मान्यता

महन्थ ठाकुर नेतृत्वको लोसपाले पायो दलको मान्यता

 

काठमाण्डौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले राजनीतिक दलको मान्यता पाएको छ । महन्थ ठाकुर नेतृत्वको लोसपाले दलको मान्यता पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर महन्थ ठाकुरले नयाँ दल गठन गरेका हुन् ।

सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएपछि दल विभाजन गर्न सकिने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार जसपाको आधिकारिकता गुमाएपछि महन्थ ठाकुर पक्षले आफ्नो पक्षमा केन्द्रीय कार्यकारिणी र संसदीय दलका २० प्रतिशतभन्दा बढी सदस्यलाई लिएर लोसपा गठन गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) विभाजन गरी लोसपा दर्ताका लागि नेताहरुले दिएको निवेदनमा निर्वाचन आयोगले बुधबार नै सांसद र केन्द्रीय सदस्यहरुलाई सनाखत गर्न बोलाएको थियो । नयाँ दल दर्ताका लागि जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत हो ।

राष्ट्रियसभाका तीन र प्रतिनिधिसभाका ३४ गरी ३७ सांसदमध्ये १५ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्या ४० प्रतिशत हुन आउछ ।

योसँगै नेपालमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको संख्या ६ पुगेको छ । जसमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र लोसपा रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend