काठमाडौं । महन्थ ठाकुर पक्षले पार्टीको नाम परिवर्तन गर्ने भएको छ । महन्थ पक्षले पार्टीको नयाँ नाम जुराउन छलफल थालेको छ । निर्वाचन आयोगमा दर्ता भइसकेको कुनै पार्टीको नामसँग अगाडि वा पछाडि अरु केही जोडेर अर्को पार्टी बनाउन नमिल्ने भन्दै निर्वाचन आयोगले प्रस्ट पारेपछि महन्थ पक्षले पार्टीको नयाँ नाम जुराउन छलफल थालेको हो ।
महन्थ पक्षका जितेन्द्र सोनलले आफूहरु नयाँ नाम चयनका लागि बैठक बस्न लागेको र आजै नयाँ नाम पठाउने बताए । पार्टीको नाम के राख्ने भन्नेबारे छलफल गरेर टुङ्गो लाग्ने उनले बताए ।
महन्थ ठाकुर निकट स्रोतका अनुसार नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने तयारी भइरहेको छ । यद्यपि त्यसमा अहिलेसम्म सहमति बनिसकेको छैन । कतिपय नेताले राजपा वा तमलोपा राख्न पनि सुझाव दिएका छन् तर त्यसमा सहमति बन्ने सम्भावना निकै कम रहेको स्रोतको दाबी छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन आयोगमा मिल्दा जुल्दा नामसँग मिल्ने गरी अगाडि वा पछाडि केही जोडेर अर्को नयाँ पार्टी दर्ता गराउन नमिल्ने भनेर यसअघि नै सूचना जारी भइसकेको बताए । तैपनि नयाँ पार्टीका लागि मिल्दोजुल्दो नाम आएको उनको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend