काठमाडौँ । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर पक्षले पार्टीको आगामी रणनीतिका लागि परामर्शमा जुटेको छ ।
जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेको ठाकुर पक्षले बुधबार जसपा (लोकतान्त्रिक) नामको दल दर्ताका लागि निवदेन दिएको थियो । आगामी रणनीति बनाउन जसपा ठाकुर पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । आगामी रणनीति बनाउन नेताहरु आन्तरिक परामर्शमा रहेका जसपा ठाकुर पक्षका नेता नबराज लम्सालले जानकारी दिए ।
उनले पार्टीको आगामी कार्यदिशाबारे आपसी परामर्शमा नेताहरु क्रियाशील रहेको बताए । निर्वाचन आयोगले ऐनअनुरुप नियमावली बनाउनुपर्ने हुन्छ । त्यसपछि मात्रै दल दर्ताको प्रक्रिया अघि बढ्छ । आयोगमा निवेदन दिएका नयाँ दलको दर्ताको औपचारिकताका लागि कम्तीमा २५ दिनजति समय लाग्ने बताइन्छ ।
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरुले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । सो पार्टीको आयोगमा दर्ता नं ४३४ रहेको छ । जसपा लोकतान्त्रिकको अध्यक्षमा महन्थ ठाकुर तथा वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन । उक्त दलमा अध्यक्ष र वरिष्ठ नेतासहित २४ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ, जसमध्ये रेशम चौधरीसहित १५ जना सांसद छन् । ठाकुर पक्षले नयाँ दलको चुनाव चिन्हमा साइकल प्रस्ताव गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend