शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

नेता खतिवडाले भने, ‘प्रेसलाई कांग्रेसले कहिल्यै पनि अंकुश लगाउने गरेर कानून ल्याउँदैन’

नेता खतिवडाले भने, ‘प्रेसलाई कांग्रेसले कहिल्यै पनि अंकुश लगाउने गरेर कानून ल्याउँदैन’

 

 

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रेसलाई कांग्रेसले कहिल्यै पनि अंकुश लगाउने गरेर कानून नल्याउने बताएका छन । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा नेता खतिवडाले पत्रकारहरू प्रजातन्त्रको सम्वाहक रहेको भन्दै स्वतन्त्र प्रेससँग कांग्रेसले कहिल्यै सम्झौता नगर्ने बताएका हुन । उनले प्रेस बलियो हुँदा मात्रै लोकतन्त्र बलियो हुने बताए ।

खतिवडाले भने ‘हामी मान्छे हौँ । कहिले काहीँ बहकिन्छौँ । मेरो आफ्नै पहलमा ओखलढुंगाका गाउँ–गाउँमा भूकम्पका बेला हेलिकप्टरमा पैसा लगेर गयौं । पत्रिकामा भूकम्पको नाममा हेलिकप्टरमा सयर गरेको भनेर समाचार आयो, , ‘मेरो अनुरोध छ, कुनै पनि कुरा बुझेर समाचार लेखेर जनतालाई जानकारी गराउनुपर्छ ।’

‘प्रेस बलियो भयो भने मात्रै लोकतन्त्र बलियो हुन्छ । मेराविरुद्ध पनि समाचार आउँछन् । ती समाचारले मलाई मार्गदर्शन गरेका हुन्छन्’, उनले भने, ‘मुलुकमा ठूला–ठूला परिवर्तनमा स्वतन्त्र प्रेसको महत्वपूर्ण भूमिका छ ।’

‘२०७० सालको संविधान सभाबाट बनेको संविधानपछि एउटै पार्टीको एउटै गठबन्धनको झण्डै दुईतिहाईको सरकार थियो’, उनले भने, ‘मुलुक सहज रुपमा अगाडि बढ्छ र जनताले चाहेको शान्ति, स्थिरता र विकासको बाटोमा लाग्छ भन्ने थियो । त्यो केही नभएर सबै उल्टो भयो ।’

कांग्रेसका युवा नेता खतिवडाले भने, ‘कम्युनिस्टले राजनीतिक स्थिरताका लागि जनतासँग भोट मागे । जनताले स्थिरताको लागि भोट दिए । फेरि हामी राजनीतिक तानातानमा लाग्यौँ ।’

‘संसद अन्त्य गरेर बिधेयक ल्याउन पाइएन । आज अध्यदेश ल्याउँदै छौँ । फेरि हामी त्यही बाटोमा जाँदै छौँ भनेर चिन्ता छ’, खतिवडाले भनेका छन् ।

‘प्रजातन्त्रमा पार्टी खोल्न पाइन्छ । जुट्न पनि पाइन्छ । फुट्न पनि पाइन्छ । अब यो फुटको राजनीतिले देशमा केही हुनेछैन’, खतिवडाले भने, ‘सकेसम्म एकजुट भएर देश निर्माणमा लाग्नुपर्छ ।’

नेता खतिवडाले केपी ओलीसहितका राजनीतिक दलहरू मिलेर बिगतका तिता–मीठा कुराहरूलाई छोडेर एकठाउँमा मिलेर मुलुक निर्माण गर्न आह्वान गरेका छन् ।

‘लोकतान्त्रिक संविधान बचाउनलाई हाम्रो ओखलढुंगाको माननीया यज्ञराज सुनुवार राष्ट्रपति कार्यलयदेखि गएर अदालतमा अन्तिमसम्म लाग्नु भएकोमा धन्यवाद समेत दिन चाहन्छ’, खतिवडाले भने, ‘कांग्रेसले उहाँ र उहाँको समूहको उद्धार गरेको छ ।’

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमहरूले आचार संहितालाई ख्याल गरेर अगाडि बढ्नुपर्ने सुझाव दिए ।

उनले काम गर्दै जाँदा कमीकमजोरी र गल्ती हुनेभन्दै ती गल्तीहरूलाई सुधार गरेर जाँदा सञ्चारमाध्यम, समाचार र पत्रकारहरूमाथि विश्वास बढेर जाने उल्लेख गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend