काठमाडौं । नेपाली भूभाग फिर्ताको मागसहित भारतको स्वतन्त्रता दिवसकै दिन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय राजदूतलाई ज्ञापनपत्र बुझाएको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले बुझाएको ज्ञापनपत्रमा १५ अगस्ट नेपालका लागि पनि महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ । ‘इन्डियाले स्वराज पाएको दिन १५ अगस्त १९४७ नेपालीका निम्ति पनि यस कारण महत्त्वपूर्ण छ, यस दिन सुगौली सन्धिमा गुमेको नेपालको ६० हजार वर्ग किलोमिटर भन्दा बढी क्षेत्रफल ब्रिटेनको उपनिवेशबाट स्वतन्त्र भएको थियो,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यो नेपाली जमिनमा सन् १९४७ अगस्ट १५ देखि आजसम्म इन्डियाको उपनिवेश कायम रहँदै आएको छ ।’
ज्ञापनपत्रमा उक्त जमिन इमान्दारीपूर्वक नेपाललाई फर्काउन भारतसमक्ष आग्रह गरिएको छ । ‘स्वतन्त्रता मानव जातिलाई सबैभन्दा प्यारो हुन्छ भन्ने हेक्का नराख्नु इन्डियाको ठूलो कमजोरी हो’ ज्ञापनपत्रमा भनिएको छ, ‘यस प्रसङ्गमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा गत जुलाई ३० का दिन एसएसबीले डोरी फुकालेपछि तुइन खुस्किएर महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुलाका नेपाली नागरिक जयसिंह धामीबारे महामहिम राजदूतको ध्यानाकर्षण गर्दछ ।’
सीमावर्ती नेपाली नागरिकहरूले स्वतन्त्रता र निर्भयतापूर्वक (नडराईकन) हिँड्न, डुल्न नपाउनु सरासर मानव अधिकारको हनन् भएको पनि मोर्चाले उल्लेख गरेको छ । ‘इन्डियाले यही नै गर्दै आइरहेको छ । जयसिंह धामीलाई बेपत्ता बनाउनुमा केवल एसएसबीको हात रहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘जानीजानी कसैलाई मार्न अगाडि सर्नु जघन्य अपराध हो र यो अपराध एसएसबीबाट भएको छ ।’
ज्ञापनपत्रमा भनिएको छ, ‘जयसिंह धामीको लास खोज्न महाकाली नदीको पश्चिमी किनारमा ड्रोन उडाउन अनुमति नदिनु इन्डियाको अमानवीय मात्रै होइन साह्रै घिनलाग्दो चरित्र हो । यसले इन्डिया आफ्ना छिमेकीमाथि जस्तोसुकै दुर्व्यवहार गर्न पछि पर्दैन भन्ने पुष्टि गरेको छ ।’
मोर्चाले जयसिंह धामी प्रकरणमा भएको ‘जघन्य अपराध’का निम्ति सार्वजनिक रूपमा माफी माग्न र जयसिंह धामीका परिवारलाई पारदर्शी रूपमा नेपाल सरकारमार्फत कम्तीमा १ करोड भारतीय रूपैयाँ क्षतिपूर्ति दिन पनि माग गरेको छ ।
जयसिंह धामीलाई स्वतन्त्र रूपमा आवतजावत गर्नबाट एसएसबीले छलपूर्वक बाधा पु¥याएका कारण उनको हत्या हुन पुगेको मोर्चाको ठहर छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend