नेपालगञ्ज । नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं लुम्बिनीका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले एमालेप्रति देखिएको जनलहरलाई देखेर सबै आत्तिएको बताएका छन। डुडुवा गाउँपालिकाका अध्यक्ष सकिल खानको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य मो हारुन, जिल्ला अध्यक्ष सूर्य ढकाल, प्रदेशका नेता निरक गुरुङ, हलिम साह, शान्ति ढकाल, जमिल खाँलगायतले पार्टी प्रवेश सभालाई सम्बोधन गरेका थिए।
यसैबीच, नेपालगञ्जमा आयोजित नेकपा एमाले जिल्ला कमिटि, बाँकेको १७ औं पूर्ण बैठकमा बोल्दै नेता पोखरेलले सहमतिको नाममा अनन्तकालसम्म अल्झिरहन सम्भव नभएको बताए। उनले असन्तुष्ट समूहलाई १० बुँदे सहमतिका आधारमा फर्किएर पार्टी काममा लाग्न आग्रह गरे।
एमालेको असन्तुष्ट समूहले संसद जोगाउनलाई ह्वीप उल्लंघन गरेको बताइरहँदा नेता पोखरेलले संसद जोगाउने नाममा पार्टीका केही नेताहरुले असंसदीय अभ्यास गरेर जनादेश र वामपन्थी विरोधी काम गरेको बताए।
उनले भने, ‘पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएको भए त संसद जोगिहाल्थ्यो नि। आफ्नै पार्टीको सरकार पनि जोगिन्थ्यो। त्यसकारण संसद जोगाउन ह्वीप उल्लंघन गरेको भन्ने भनाइमा सत्यता छैन।’
नेता पोखरेलले ओलीको नेतृत्वमा रहेको पार्टी नै आधिकारिक भएकाले संगठन विस्तार र पार्टी इकाईहरुलाई चुस्त दुरुस्त गराउन निर्देशन दिए।
एमालेले आगामी चुनाव, पार्टी महाधिवेशनलाई लक्षित गरेर गतिविधिलाई तिब्रता दिइरहेको छ।
सोही कार्यक्रममा डुडुवा गाउँपालिका वडा नं ६, हिरमिनियाका अध्यक्षलगायत जनप्रतिनिधिहरु एमालेमा प्रवेश गरेका छन्।
वडाध्यक्ष मोहनराम मिश्र, सदस्यहरु तिरथराम कुर्मी, महिला सदस्य अक्लिमुन निसा शेषलगायत एमालेमा प्रवेश गरेका हुन्। उनीहरुले जनप्रतिनिधिहरु फोरम लोकतान्त्रिकबाट चुनाव जितेका थिए।
जनप्रतिनिधि लगायत विभिन्न पार्टी परित्याग गरेर दुई सय बढी एमालेमा प्रवेश गरेका छन्। उनीहरुलाई लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेलले पार्टीमा स्वागत गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend