काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सरकारी सञ्चार माध्यमहरुलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिएका छन् । आज आयोजित स्वागत समारोहमा सचिव डा अर्यालले आमसञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र प्रतिस्पर्धी गराउन आवश्यक नीतिगत व्यवस्था तथा नियमन प्रणालीलाई चुस्तदुरुस्त गर्नुपर्ने धारणा व्यक्त गरे ।
विसं २०४९ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएका सचिव डा अर्यालले अर्थ, वाणिज्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न सरकारी निकायमा कुशलतापूर्वक कार्यसम्पादन गरिसकेका छन् । हालैको मन्त्रिपरिषदको निर्णयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आउनु भएका सचिव अर्यालले आजै आफ्नो पदभार सम्हालेका छन् ।
कार्यक्रममा मन्त्रालयका सहसचिव डिल्लीराम शर्माले आमसञ्चार, दूरसञ्चार र चलचित्र क्षेत्रमा मन्त्रालयले सम्पादन गर्दै आएका र आगामी दिनमा गर्नुपर्ने कार्यहरुबारे अवगत गराउँदै योग्य, अनुभवी र कुशल व्यक्तित्वलाई सचिव पाउँदा मन्त्रालयले अझ प्रभावकारी रुपमा कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा मन्त्रालय र मातहतका निकायका प्रमुख तथा वरिष्ठ अधिकृतहरुले सचिव डा।अर्यालको कार्यकालको सफलताको कामना गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend