शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमालेका सचिव भीम आचार्यको ८ बुँदे अपिल, एमाले एकताका लागी हारगुहार

एमालेका सचिव भीम आचार्यको ८ बुँदे अपिल, एमाले एकताका लागी हारगुहार

 

काठमाण्डौं । नेकपा एमालेका सचिव भीम आचार्यले पार्टी विभाजनको संघारमा पुगेको भन्दै एकताका लागि ८ बुँदे अपिल जारी गरेका छन्।

विभाजनकारीहरू सक्रिय भएकाले पार्टी गम्भीर संकटमा परेको उल्लेख गर्दै सचिव आचार्यले बुधबार बिहानै पार्टी बचाइदिन देशविदेशमा रहेका नेपालीसमक्ष हारगुहार गरेका हुन्।

‘दुनियाँभरकै प्रतिक्रियावादी शक्तिहरू, देशभित्रका प्रतिगामी सत्ताच्युत तत्त्वहरू र राम्रो काम गरेर होइन अरूलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायित प्रतिस्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिरहेको छ,’ आचार्यले भनेका छन्, ‘टुटफुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देशविदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछु।’

भीम आचार्यले जारी गरेको अपिलको पूर्ण पाठः

यतिबेला नेकपा एमालेमा विभाजनकारी प्रवृत्ति हावी भएकाले यो गम्भीर संकटबाट गुज्रिरहेको छ।

१ एकातिर गत फागुन २८ गतेबाट सुरु भएको विभाजनकारी प्रवृत्तिहरू कतिपय बोली, वचन, काम, व्यवहार र निर्णयहरूमा हालसम्म पनि प्रकट भइरहेका छन्।

२ अर्कोतिर त्यो प्रवृत्तिको विरोधमा पार्टी एकताको झण्डा उठाउनुपर्ने अपेक्षा गरिएको पक्षका काम, कारबाही, सर्त, माग र गतिविधिहरू विभाजनकै पक्षमा प्रकट भइरहेका हुन् कि भन्ने आशंका बढेर गएको छ।

३ पक्ष २ वटा प्रवृति एउटै विभाजनकारी नहोस् भन्ने आम कार्यकर्ताको अपेक्षा हो।

४ दुनियाँभरकै प्रतिक्रियावादी शक्तिहरू, देशभित्रका प्रतिगामी सत्ताच्युत तत्त्वहरू र राम्रो काम गरेर होइन अरूलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायित प्रतिस्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिहेको छ।

५ नेकपा एमालेका देशविदेशमा भएका लाखौं कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा जनसमुदायहरू नेपालको वामपन्थी आन्दोलन र नेकपा एमालेको एकताका पक्षमा छन्, तर उनीहरू पार्टी बचोस् भन्ने अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासेजस्ता भएका छन् र विडम्बना उनीहरू नेतृत्वविहीन पनि छन्।

६ गत असार २७ गते भएको १० बुँदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार हो। यसैमा टेकेर एकताको शुभारम्भ गर्दै थप समस्याहरू हल गर्दै जान सकिन्छ। बिनाजालझेल, छलछाम र हिच्किचाहट रूपमा यसलाई लागू गर्नुपर्दछ।

७ हाल पार्टी एकताको कुरा गर्नेहरूमाथि आक्रमण गर्ने, निरुत्साहित९हतोत्साहित गर्न खोज्ने, अनेक आरोप लगाएर बदनाम गर्ने प्रयासहरू भइरहेका छन्। त्यसबाट एकता पक्षधरहरू हतोत्साही हुनु हुँदैन।

८ टुटफुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देशविदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछु।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend