काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस माहामारीको तेस्रो लहर छिट्टै आउने लक्षण देखिएको भन्दै यसप्रति सबै सजग र सचेत हुनुपर्ने बताएका छन । । उनले भीडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्न सम्पूर्ण राजनीतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्रलाई आग्रह गरेका हुन । सबैको साझा प्रयासले मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने उनको भनाई छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपाल मास्क अभियान’ सन्दर्भमा उनले दिएको भिडियो सन्देशमा सरकारको एक्लो प्रयासले मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सम्भव नभएकाले यसमा सबैको सहयोग हुनुपर्नेमा जोड दिएका हुन् ।
प्रधानमन्त्री देउवाले अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कन र निस्कनुअघि नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउन सबैमा आग्रह गर्दै भौतिक दूरी कायम गर्न, बेलाबेलामा साबनुपानीले हात धुन र स्वास्थ्यसम्बन्धी मापदण्ड प्रयोग गर्न सबैमा आह्वान गरे । उनले महामारी नियन्त्रण गर्ने प्रभावकारी उपाय खोप रहेको भन्दै विभिन्न उमेर समूहलाई खोप लगाउने कार्य सरकारले जारी राखेको बताउँदै खोप लगाउँदा दूरी कायम गरी लाइनमा बस्नसमेत अनुरोध गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend