काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै पार्टी एकताका लागि आत्मालोचना गर्नुपर्ने कुरामा जोड दिइएको छ ।
बिहीबारदेखि काठमाडौँमा जारी सो पक्षका केन्द्रीय सदस्यले पार्टीभित्र आत्मसम्मान, सहअस्तित्व र सामूहिक भावनाको विकास नहुँदा समस्या उत्पन्न भएको जनाएको छ ।
बैठकमा गत असार २८ गते पार्टीको विवाद समस्या समाधान कार्यदलले दिएको १० बुँदे सहमतिको प्रस्ताव मात्रै निकाशका लागि पर्याप्त नभएको बताइएको छ ।
साथै अध्यक्ष ओलीले स्थानीय तहमा पार्टीको अधिवेशन र विधान अधिवेशन तोक्ने निर्णय गरेर आफूखुशी अघि बढेकाले एकताको प्रक्रिया चलिरहेका बेला दुवै पक्षका समानान्तर गतिविधि हुन नहुने प्रस्ताव बैठकमा गरिएको छ ।
बैठकमा अहिले केन्द्रीय सदस्यको धारणा राख्ने क्रम सकिएर स्थायी कमिटीका नेताले बोल्ने क्रम चलिरहेको छ । पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले कार्यदलले समाधानका लागि सबै सवाल नसमेटेकाले त्यसबारे आफूहरु स्पष्ट हुन चाहेको र आत्मसम्मानसहितको एकताका पक्षमा कुरा उठाइएको बताए । उनले एकले अर्कोलाई अवहेलना र आरोपित गर्ने कार्यले सहजरूपमा काम गर्ने वातावरण नबन्ने पनि बताए ।
मनोवैज्ञानिक तथा भौतिकरुपमा सहज वातावरण निर्माण हुनुपर्ने आफ्नो पक्षको माग रहेको उनको भनाइ छ । नेता खतिवडाले पार्टीमा हार्दिकतापूर्वक सहयोगात्मक रुपमा सँगै काम गर्ने अवस्थाका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको मेल हुनु महत्वपूर्ण पक्ष भएको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend