शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

स्थानीय तहलाई प्रदेश मातहत ल्याउने कुरा कुनै हालतमा स्वीकार्य हुँदैनः योगेश भट्टराई

स्थानीय तहलाई प्रदेश मातहत ल्याउने कुरा कुनै हालतमा स्वीकार्य हुँदैनः योगेश भट्टराई

 

 

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारमा ल्याउने प्रयास कुनै पनि रुपमा स्वीकार्य नहुने बताएका छन्।

सत्तारुढ गठबन्धनको कार्यदलले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकार भित्र राख्न सुझाव दिएको भन्ने जानकारी पाएको भन्दै नेता भट्टराईले यदि त्यस्तो भएमा संविधानको मर्ममाथि नै प्रहार हुने बताएका छन्।

उनले लेखेका छन्, ‘प्रथमतः यो संविधानको बर्खिलाप छ। यसका लागि संविधान संशोधनले मात्र पुग्दैन व्यापक राष्ट्रिय सहमति चाहिन्छ। नेकपा एमाले सुरुदेखि नै यो अवधारणाको विपक्षमा छ, एमालेले साथ दिने कुरै हुँदैन। संविधान निर्माणताका कांग्रेस पनि एमालेकै विचारमा सहमत थियो। आज कांग्रेसले विचार बदल्नुको कारण के होरु जनसमक्ष स्पष्ट गर्नु पर्दछ।’

उनले अघि लेखेका छन्, ‘दोश्रो, कतिपय देशमा स्थानीय तहलाई प्रदेशको मातहत राखिएको छ। ती देशमा प्रदेशले कुनै पनि बेला स्थानीय तहलाई विघटन गर्ने, स्थानीय तहलाई आफ्नो लाचार छाया बनाउने गरेका छन्। यसले आधारभूत तहमा नागरिकसँग दैनिक काम गर्नु पर्ने, राज्यका काम तथा सेवालाई आम नागरिकसम्म पुर्‍याएर राज्य र जनता बिचको दूरीलाई कम गर्दै व्यवस्थाका पक्षमा नागरिकको निरन्तर समर्थनप्राप्त गर्नु पर्नेमा यो सोचले त्यो कार्य कमजोर हुन जान्छ।’

राज्य र जनताबिचको अन्तरविरोध फैलिँदै गएर व्यवस्था नै ढल्ने अवस्था आउन सक्ने भन्दै उनले विरोध गरेका हुन्।

उनले लेखेका छन्, ‘कतिपय देश र विगतमा हाम्रै मुलुकको उदाहरणले यही भन्छ। यस्तो कुरा जान्दा जान्दै सत्तारुढ गठबन्धन किन त्यता जाँदैछ ? ’

तहगत शासकहरुमा पलाउने अहंकार र शक्ति उन्मादको सिकार मुलुक बन्न नहुने उनले बताएका छन्।

उनले लेखेका छन्, ‘एक तह र अर्कोका बिचमा टकराब नहोस् भन्नका लागि तिनै तहलाई संवैधानिक रुपमै स्वायत्त गरि अधिकारको बाँडफाँट गरिएको हो। सत्तारुढ गठबन्धनको प्रस्तावले संविधानको यो अवधारणालाई भात्काउने छ र मुलुकमा शासकीय अराजकता सिर्जना भै वर्तमान राजनीतिक व्यवस्थामाथि गम्भीर धक्का पुग्ने छ।’

विकास बजेट अत्यन्तै कममात्र खर्च भइरहेको वर्तमान अवस्थामा स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाएर, साधन, श्रोत र दक्ष जनशक्ति समेत थप गरेर जनताको सहभागितामा स्थानीय नेतृत्व मार्फत विकासका कामलाई तीव्रता दिएर छिटो प्रतिफल निकाल्नु पर्नेमा सत्तारुढ गठबन्धन उल्टो बाटो हिँड्न खोजेको आरोप उनको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend