शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

माधव नेपाल जननेता हुनुभयो, एमालेले कारबाही गरेर उहाँको हाइट घट्दैनः महेन्द्र यादव

माधव नेपाल जननेता हुनुभयो, एमालेले कारबाही गरेर उहाँको हाइट घट्दैनः महेन्द्र यादव

 

 

 

काठमाण्डौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई जननेताको संज्ञा दिएका छन् । नेता नेपालले पार्टीभन्दा माथि उठेर राजनीतिक व्यवस्था, संविधान, लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको र सोहीअनुसार भूमिका खेलेको यादवको भनाइ छ ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘माधव नेपालले पार्टीभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्नुभयो । संविधान, व्यवस्था र कानूनको रक्षाको लागि अडान लिनुभयो । अब उहाँलाई एमालेले कारबाही गरेर उहाँको हाइट घट्दैन्, बरु बढ्छ ।’ उनले माधव नेपाललाई गिरिजा प्रसाद कोइरालासँग तुलना गरे । उनले भने,‘जसरी गिरिजाबाबु सबैले भरोसा गर्न योग्य नेता हुनुहुन्थ्यो, अहिले माधव नेपालपनि त्यस्तै हुनुभएको छ।’
माधव नेपाल समूह पनि ढिलो÷चाँडो सरकारमा सहभागी हुने विश्वास दिलाए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्ने सुनाए । उनले भने,‘मन्त्रिपरिषद् विस्तार जतिबेला पनि हुनसक्छ । अब धेरै ढिलो हुँदैन् । प्रधानमन्त्रीज्यू गठबन्धनमा आबद्ध दललाई विश्वासमा लिएर अघि बढ्न चाहनुहुन्छ । यो सरकार संविधानको धारा ७६ को ५ अनुसार बनेको हो । त्यसैले उनका सबैलाई समेटेर अघि बढ्न चाहानुहुन्छ । राष्ट्रिय सरकार नै बनाउन चाहनुहुन्छ ।’ मन्त्रिपरिषद् विस्तारबारे अहिले गृहकार्य भैरहेको उनको भनाइ छ । उनले भने,‘कांग्रेस अरु दललाई बिच्काउन चाहँदैन् । उनीहरुलाई पूरै सन्तुष्ट गरेर नै अघि बढ्छौं । बरु, कांग्रेसले एक÷दुईवटा मन्त्रालय नै कम लिन्छ ।’
उनले कांग्रेसको क्रियाशील सदस्यताको विवादपनि समाधानको चरणमा रहेको सुनाए । उनले यो हप्ताभित्रै विवाद समाधान हुने दाबी गरे । उनले महाधिवेशन भदौको अन्तिम साताबाट प्रारम्भ भएर मंसिर(पुससम्म सम्पन्न गरिसक्ने पनि सुनाए । उनले प्रधानन्त्री तथा पार्टी सभापति देउवाको पछिल्लो समय हाइट बढेको र विपीको स्थानमा पुग्नसक्ने पनि सुनाए । उनले भने,‘अहिले प्रधानमन्त्रीज्यूप्रति जनताको सम्मान बढेको छ । उनको हाइट धेरै बढेको छ । उहाँ सबैले भरोषा गर्न योग्य व्यक्ति हो ।’
उनले प्रधानमन्त्री देउवा बन्ने बित्तिकै गच्छदारलाई उन्मुक्ति दिईएको भन्ने हल्लामा कुनै सत्यता नभएको पनि स्पष्ट पारे । उनले भने,‘देउवाजी प्रधानमन्त्री हुनेबित्तिकै गच्छदारले उन्मुक्ति पाएको होईन । अदालतप्रति हामीले विश्वास गर्नुपर्छ ।’ उनले पार्टी सभापति देउवाले कहिल्यैपनि आलमलाई छुटाउने भनेर नभनेको पनि जिकिर गरे । उनले भने,‘भोलि आलम रिहा भए पनि यसलाई सरकारसँग जोडेर हेर्नुहुँदैन् । हामीले अदालतलाई विश्वास गर्नुपर्छ ।’
उनले पार्टीमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अनुभवी र खारिएको नेता भएको पनि सुनाए । उनले आफूहरुलाई नेतृत्वमाथि पूर्ण विश्वास र भरोसा रहेको पनि सुनाए । उनले पार्टी सभापति देउवामा समन्वयकारी क्षमता भएको पनि सुनाए ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले सत्तापक्षलाई केपी ओलीमुक्त नेपाल बनाउने सपना नदेख्न चेतावनी दिएका छन् । उनले भने,‘सत्तापक्षले केपी ओलीमुक्त नेपाल बनाउँछौं भनेको छ, यो घृणास्पद अभिव्यक्ति हो । यो खेदजनक छ । केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहनुहुन्छ ? वा जेल हाल्न चाहानुहुन्छ ? यसको उत्तर सत्ताधारीले दिनुपर्छ ।’
नेता पोखरेलले कांग्रेस, माओवादी केन्द्रलगायतको गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन् । उनले भने,‘अहिले नेपालको राजनीतिक अत्यन्तै तरल अवस्थामा छ । संक्रमणकालिन अवस्थामा छन् । राजनीतिक अस्थिरतातर्फ मुलुक अघि बढिरहेको छ । यसमा नेपालको आन्तरिक राजनीतिक कारणपनि छ, अर्को बाहृय शक्तिको पनि हात छ । र, न्यायलयको फैसलाले पनि यो अवस्थाको श्रीगणेश गरेको छ ।’
उनले सत्तापक्षीय गठबन्धनले केपी ओलीमुक्त नेपाल बनाउँछौं भनेर घोषणा गरेपनि त्यो उनीहरुको पराजित मानसिकता भएको टिप्पणी गरे । उनले आफूहरु केपी ओलीयुक्त नेपाल बनाउने अभियानमा लागेको सुनाए । उनले केपी ओलीको किड्नी फेल भएको छ, यो मरिहाल्छ अनि हामी राजकाज चलाउन पाउँछौं भनेर सोचेकाहरुले केपी ओली दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरेर फर्किएपछि षड्यन्त्रमा लागेको आरोप लगाए ।
आफूहरु निर्वाचनको पक्षमा रहेकोले जहिल्यैपनि निर्वाचनमा जान तयार रहेको पोखरेलको भनाई छ । उनले भने, ‘हिजो निर्वाचनलाई प्रतिगमन देख्नेहरु आज यिनीहरुले निर्वाचन गर्छनजस्तो मलाई चाहीँ लाग्दैन् ।’ उनले सत्तापक्षीय गठबन्धनले निर्वाचन गराउनुभन्दापनि बरु अदालतबाटै १० वर्ष नै यो सरकारको आयु लम्ब्याउन मिल्ने भए त्यतातिर जानसक्ने टिप्पणी गरे । उनले भने,‘किनभने सेटिङमा अदालतबाट फैसला गराउनुभएको छ।’ उनले चुनाव त आफूहरुको माग भएको जिकिर गरे । उनले कांग्रेस, माओवादी केन्द्र र जसपालगायतको गठबन्धनलाई कथित गठबन्धनको संज्ञा दिँदै यसले निर्वाचन गराउन नसक्ने दाबी गरे ।
एमालेभित्रको अन्तरकल समाधानको लागि अहिले प्रयास भैरहेको पनि सुनाए । आफूहरुको नवौं महाधिवेशनको दस्तावेजमै कांग्रेस प्रतिस्पर्धी पार्टी उल्लेख गरिएकोमा माधव नेपाल समूहले कांग्रेसकै नेतृत्वमा सरकार बनाउनको लागि भूमिका खेल्नु पार्टी हित र कम्युनिष्ट आचरण बाहिरको कुरा भएको पनि पोखरेलको भनाई छ । उनले भने,‘माधव नेपालहरुको कदम यो सरासर धोका हो । गद्दारी हो ।’
उनले आफूहरुले माधव नेपालले अघि सारेका ६ बुँद माग पनि पूरा गरेको र हुँदाहुँदै पार्टी एकताको लागि अध्यक्ष पनि दिन तयार भएको सुनाए । तर, नेपालले भने अध्यक्ष पनि लिन नमानेको उनको भनाई छ । उनले माधव नेपाल समूह सरकारमा जाने कुरामा आफूलाई विश्वास नभएको पनि सुनाए ।
जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा २ नम्बर प्रदेशका प्रदेशसभा सदस्य मनिष सुमनले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पार्टीेका तीन नेताले यथाशक्य चाँडो टुँगो लगाउने स्पष्ट पारेका छन् । उनले भने,‘हाम्रो पार्टीको कार्यकारिणी समितिको बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीयपरिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मा दिएको छ । उहाँहरुले निर्णय गर्नुहुन्छ ।’
नेता सुमनले सत्तापक्षीय गठबन्धनले छोटो छरितोमा सरकारको लागि साझा कार्यक्रम ल्याउनेपनि बताए । उनले भने,‘हामीले लामो कार्यक्रम ल्याउँदैनौं । साझा कार्यक्रम बुलेट प्वाईन्टमा आउँछ ।’ उनले सरकारले कोरोनामुक्त नेपाल बनाउनुपर्ने बताउँदै त्यसको लागि सबैलाई खोप उपलब्ध गराउनुपर्नेमा जोड दिए । त्यस्तै, आगामी निर्वाचन पनि यो सरकारको काँधमा भएकोले सोहीअनुसार काम गर्नुपर्ने दायित्व रहेको सुमनले सुनाए ।
उनले आफूहरु तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्रतिगमनकारी कदमको विरुद्धमा कांग्रेस, माओवादी केन्द्रसँगै एउटै कित्तामा उभिएको र प्रतिगमनलाई अन्ततः परास्त गर्न सफल भएको सुनाए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend