बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिल्क ग्रुपद्वारा ई–कमर्स प्लेटफर्म ‘चाइना बजार’ आयो सञ्चालनमा, छिट्टै आईपीओमा जाने घोषणा

सिल्क ग्रुपद्वारा ई–कमर्स प्लेटफर्म ‘चाइना बजार’ आयो सञ्चालनमा, छिट्टै आईपीओमा जाने घोषणा

काठमाडौं । व्यापारिक क्षेत्रलाई डिजिटल प्रविधिसँग जोड्दै व्यवसाय विविधीकरणको रणनीतिमा अघि बढेको सिल्क ग्रुपले ‘चाइना बजार’ नामक नयाँ ई–कमर्स प्लेटफर्म औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। कम्पनीले यससँगै पहिलो ‘एक्स्पेरियन्स स्टोर’ पनि सञ्चालनमा ल्याउँदै अनलाइन र अफलाइन किनमेललाई एउटै छातामुनि ल्याउने प्रयास गरेको छ।
राजधानीमा आयोजित विशेष कार्यक्रममा सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले ‘चाइना बजार’ले प्रारम्भिक चरणमा व्यवसायदेखि–ग्राहक (बीटुसी) मोडलमार्फत सेवा सुरु गरेको जानकारी दिए। उनका अनुसार अब नेपाली उपभोक्ताले चीनका उत्पादनकर्ताबाट प्रत्यक्ष ल्याइएका सामान पारदर्शी मूल्यमा खरिद गर्न सक्नेछन्।

कम्पनीले ग्वार्खोस्थित टुलिप होटल परिसरमा पहिलो अफलाइन ‘एक्स्पेरियन्स स्टोर’ सञ्चालनमा ल्याएको छ। यस स्टोरमा ग्राहकले अनलाइनमा उपलब्ध सामान प्रत्यक्ष हेर्न, परीक्षण गर्न र त्यसपछि खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। अध्यक्ष शेर्पाले आगामी एक वर्षभित्र वीरगन्ज र भैरहवामा थप दुई वटा एक्स्पेरियन्स स्टोर विस्तार गर्ने योजना रहेको बताए।

उनले ‘चाइना बजार’लाई भविष्यमा व्यवसायदेखि–व्यवसाय (बीटुबी) सेवासमेत प्रदान गर्ने राष्ट्रिय व्यापारिक सञ्जालका रूपमा विकास गरिने जानकारी दिए। उनका अनुसार यसबाट ठूला व्यवसाय मात्र होइन, साना तथा मझौला व्यापारीहरूले पनि प्रत्यक्ष लाभ लिन सक्नेछन्।

कम्पनीले उपभोक्तासम्म सामान पुर्‍याउने सम्पूर्ण आपूर्ति प्रणाली आफैं सञ्चालन गर्ने रणनीति अपनाएको जनाएको छ। चीनका उत्पादनकर्ताबाट प्रत्यक्ष सामान खरिद गरी आफ्नै गोदाममा भण्डारण गर्ने र आफ्नै व्यवस्थापनमार्फत ग्राहकसम्म डेलिभरी गर्ने प्रणाली लागू गरिनेछ। यसबाट बिचौलियाको लागत घट्ने, डेलिभरी समय छोटिने र मूल्य पारदर्शी हुने कम्पनीको दाबी छ।

‘इन्जोय योर सपिङ’ भन्ने नारासहित सुरु गरिएको प्लेटफर्ममा प्रारम्भिक चरणमा इलेक्ट्रोनिक्स, फेसन, लाइफस्टाइल, स्वास्थ्य तथा सौन्दर्यसँग सम्बन्धित सामग्री उपलब्ध हुनेछन्। ग्राहकले ईसेवा र खल्तीमार्फत सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा अध्यक्ष शेर्पाले सिल्क ग्रुपलाई पुँजी बजारमा लैजाने तयारीसमेत सार्वजनिक गर्दै निकट भविष्यमा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने घोषणा गरे। उनका अनुसार कम्पनीको दीर्घकालीन लक्ष्य ई–कमर्स, खुद्रा व्यापार र डिजिटल सेवालाई एकीकृत गर्दै देशव्यापी व्यापारिक सञ्जाल निर्माण गर्नु हो।

नयाँ प्लेटफर्मको सुरुवातसँगै सिल्क ग्रुपले नेपालको ई–कमर्स क्षेत्रमा प्रतिस्पर्धा थप तीव्र बनाउने संकेत दिएको छ। कम्पनीको विश्वास छ, ‘चाइना बजार’ले नेपाली उपभोक्ताको किनमेल गर्ने शैलीमा परिवर्तन ल्याउँदै गुणस्तरीय सामान उचित मूल्यमा उपलब्ध गराउने नयाँ विकल्पका रूपमा स्थापित हुनेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend