काठमाडौं। बागमती प्रोस्कुनको सातौँ स्थापना दिवस तथा छैटौँ वार्षिक उत्सव बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा भव्य रूपमा सम्पन्न भएको छ।
समारोहमा बागमती प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि रायमाझीले सहकारी क्षेत्रलाई आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा सामाजिक विकासको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले सहकारी संस्थाहरूलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउँदै सदस्यको विश्वास अझ सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका सभापति उद्धव सापकोटाले बागमती प्रोस्कुनले स्थापना कालदेखि नै सहकारी क्षेत्रको क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा सदस्य संस्थाबीच समन्वय र सहकार्य विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। आगामी दिनमा पनि सहकारी अभियानलाई थप प्रभावकारी र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थापना दिवस तथा वार्षिक उत्सवका अवसरमा सहकारी क्षेत्रको विकास, सुशासन, वित्तीय अनुशासन तथा उत्कृष्ट कार्यसम्पादनमा योगदान पुर्याएका विभिन्न उत्कृष्ट सहकारी संस्थाहरूलाई सम्मान गरिएको थियो। सम्मानित संस्थाहरूलाई कदरपत्र तथा सम्मानचिन्ह प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहकारीकर्मी, विभिन्न सहकारी संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सहकारी अभियानलाई अझ प्रभावकारी, विश्वसनीय र उत्पादनमुखी बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
उत्सवले सहकारी क्षेत्रका उपलब्धिहरूको समीक्षा गर्दै आगामी कार्यदिशा तय गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend