बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

विश्व हेपाटाइटिस दिवस २०२६: सन् २०३० सम्म हेपाटाइटिसमुक्त नेपाल निर्माणमा नीति, उपचार र समुदायको भूमिकामाथि व्यापक छलफल

विश्व हेपाटाइटिस दिवस २०२६: सन् २०३० सम्म हेपाटाइटिसमुक्त नेपाल निर्माणमा नीति, उपचार र समुदायको भूमिकामाथि व्यापक छलफल

ललितपुर । विश्व हेपाटाइटिस दिवस २०२६ को अवसरमा “आउनुहोस्, अवरोधहरू हटाऔँ : सन् २०३० सम्म हेपाटाइटिसमुक्त नेपाल” भन्ने मूल नारासहित मंगलबार ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रमको आयोजना स्पर्श नेपाल (SPARSHA Nepal) ले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थासँगको सहकार्यमा गरेको हो।

कार्यक्रमको सुरुवात दर्ता तथा चिया–कफी सत्कारसँगै भएको थियो। त्यसपछि आयोजक संस्थाले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य प्रस्तुत गर्दै नेपालमा भाइरल हेपाटाइटिसको रोकथाम, परीक्षण, उपचार र जनचेतना अभिवृद्धिका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएको थियो।

कार्यक्रममा नेपाल एचआईभी/एड्स संक्रमित व्यक्तिहरूको राष्ट्रिय महासंघ (NAP+N) का प्रतिनिधिले सम्बोधन गर्दै हेपाटाइटिस र एचआईभीसँग सम्बन्धित सेवामा पहुँच विस्तार गर्न समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। त्यसैगरी, सीडीए फाउन्डेसन (CDA Foundation) को ALLIES टोलीबाट भिडियो सन्देशमार्फत विश्वव्यापी रूपमा हेपाटाइटिस उन्मूलनका प्रयास र नेपालसँगको सहकार्यबारे जानकारी गराइएको थियो।

स्पर्श नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक प्रवचन केसीले संस्थाले हेपाटाइटिस उपचारमा पहुँच विस्तार, नीति पैरवी तथा सेवा प्रवाहका क्षेत्रमा गरेका गतिविधिबारे प्रस्तुति दिएका थिए। त्यसपछि नेपालमा भाइरल हेपाटाइटिसको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे राष्ट्रिय परिप्रेक्ष्य प्रस्तुत गरिएको थियो।

कार्यक्रमको मुख्य आकर्षण “नेपालमा हेपाटाइटिस उन्मूलनका अवरोध हटाउने : नीतिदेखि समुदायसम्मको साझा पहल” विषयक विशेषज्ञ प्यानल छलफल रहेको थियो। छलफल विशेषगरी ‘राष्ट्रिय भाइरल हेपाटाइटिस बी तथा सी रणनीति २०२३–२०३०’ केन्द्रित थियो।

प्यानलमा परिवार कल्याण महाशाखाका निर्देशक डा. मदन उपाध्याय, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (NCASC) का निर्देशक डा. सर्वेश शर्मा, विश्व स्वास्थ्य संगठन (WHO) नेपालका डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल, एएमआर एन्ड वन हेल्थ टोली प्रमुख डा. केन्जा बेनानी, अल्का अस्पतालका कन्सल्टेन्ट हेपाटोलोजिस्ट डा. अनन्त श्रेष्ठ, हार्म रिडक्सन इन्टरनेशनल (HRI) का वरिष्ठ वित्तीय विश्लेषक गज गुरुङ (पीएचडी) तथा स्पर्श नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक प्रवचन केसी सहभागी थिए।

छलफलका क्रममा नेपालले सन् २०३० सम्म विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको भाइरल हेपाटाइटिस उन्मूलनको लक्ष्य हासिल गर्न नीति कार्यान्वयन, दिगो वित्तीय व्यवस्थापन, रोकथाम, परीक्षण, उपचार, खोप, हर्म रिडक्सन कार्यक्रम तथा समुदायको अर्थपूर्ण सहभागितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो।

त्यसपछि सञ्चारकर्मी तथा सहभागीहरूको जिज्ञासामा आधारित अन्तरक्रियात्मक प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा उठाइएका प्रश्नहरूको विज्ञहरूले जवाफ दिँदै हेपाटाइटिसविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउन सरकार, विकास साझेदार, स्वास्थ्यकर्मी र समुदायबीच समन्वय आवश्यक रहेको बताए।

कार्यक्रमको अन्त्यमा स्पर्श नेपालका अध्यक्ष सुशील खत्रीले धन्यवाद ज्ञापन गर्दै हेपाटाइटिसमुक्त नेपाल निर्माणका लागि सबै क्षेत्रको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे। समापनपछि सहभागीहरूले सामूहिक तस्वीर खिचाएका थिए भने त्यसपछि हाई–टी, नेटवर्किङ तथा फोटो बुथ कार्यक्रम सञ्चालन गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend