मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सुनसरी घटनाप्रति नेपाल मातृभूमि पार्टीको चिन्ता, धार्मिक सद्भाव कायम राख्न अपिल

सुनसरी घटनाप्रति नेपाल मातृभूमि पार्टीको चिन्ता, धार्मिक सद्भाव कायम राख्न अपिल

काठमाडौं। नेपाल मातृभूमि पार्टीले सुनसरी जिल्लामा हालै देखिएको धार्मिक तथा सामाजिक झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई संयमता अपनाउन र धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न आग्रह गरेको छ।
पार्टीका अध्यक्ष ओमप्रकाश विश्वकर्माद्वारा जारी विज्ञप्तिमा नेपाल हजारौँ वर्षदेखि धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकताको उदाहरणका रूपमा स्थापित रहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा यिनै मूल्य र मान्यताले नेपालको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय अस्मिताको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ।
पार्टीले देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूले नेपाली समाजमा विभाजन सिर्जना गर्ने, धार्मिक तथा साम्प्रदायिक सद्भाव बिथोल्ने र सामाजिक तिक्तता फैलाउने प्रयास गर्न सक्ने भएकाले सबै पक्ष समयमै सचेत हुनुपर्ने आवश्यकता औँल्याएको छ।
नेपाल मातृभूमि पार्टीले कुनै पनि प्रकारका उक्साहटपूर्ण गतिविधिमा संलग्न नहुन, उत्तेजना फैलाउने अभिव्यक्ति वा भ्रामक सूचना प्रचार–प्रसार नगर्न तथा सामाजिक सञ्जालमा आउने अपुष्ट जानकारीप्रति विश्वास नगरी सत्यतथ्यको पुष्टि गर्न सबैमा आग्रह गरेको छ।
पार्टीले शान्ति, सद्भाव, सामाजिक एकता र पारस्परिक सम्मान नेपाली समाजको साझा सम्पत्ति भएकाले त्यसको संरक्षणमा सबै राजनीतिक दल, सामाजिक संघसंस्था, धार्मिक समुदाय तथा नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend