सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मिसेस नेपाल वर्ल्ड–२०२६ को आवेदन खुला, विजेताले अमेरिकामा नेपाल चिनाउने अवसर पाउने

मिसेस नेपाल वर्ल्ड–२०२६ को आवेदन खुला, विजेताले अमेरिकामा नेपाल चिनाउने अवसर पाउने

काठमाडौं । विवाहित नेपाली महिलाको प्रतिभा, व्यक्तित्व र नेतृत्व क्षमतालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने उद्देश्यसहित मिसेस नेपाल वर्ल्ड–२०२६ को आवेदन प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ।

आयोजक रिबन इन्टरटेन्मेन्ट प्रालि ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको नयाँ संस्करण सार्वजनिक गरेको हो। संस्थाका अध्यक्ष निशुकान्त झाले प्रतियोगितामा सहभागी हुन इच्छुक विवाहित महिलाले खल्ती एप वा रिबन इन्टरटेन्मेन्टको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्ने जानकारी दिए।

उनका अनुसार प्रतियोगिताको पहिलो चरणको अडिसन आगामी साउन २३ गते काठमाडौंमा आयोजना हुनेछ। अडिसनबाट छनोट भएका प्रतियोगीलाई करिब ४५ दिनसम्म व्यक्तित्व विकास, सञ्चार सीप, सार्वजनिक प्रस्तुति, र्‍याम्प वाक, फिटनेस तथा सामाजिक उत्तरदायित्व लगायतका विषयमा विशेष प्रशिक्षण प्रदान गरिनेछ।

प्रतियोगिताको मुख्य विजेताले आगामी वर्ष अमेरिकामा आयोजना हुने मिसेस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। साथै, यही प्रतियोगितामार्फत मिसेस नेपाल इन्टरनेसनल–२०२६, एमएस इन्टरनेसनल–२०२६ र मिसेस नेपाल कोस्मो–२०२६ का लागि पनि नेपाली प्रतिनिधि चयन गरिने आयोजकले जनाएको छ।

यस वर्षको प्रतियोगिताको अर्को विशेषता भनेको सहभागिताका लागि उचाइ वा तौलसम्बन्धी कुनै अनिवार्य मापदण्ड नराखिनु हो। आयोजकका अनुसार प्रतियोगिताले बाह्य सौन्दर्यभन्दा व्यक्तित्व, आत्मविश्वास, क्षमता र सामाजिक योगदानलाई प्राथमिकता दिनेछ।

प्रतियोगिताको ग्रान्ड फिनाले आगामी कार्तिक १४ गते आयोजना हुने कार्यक्रम तय गरिएको छ। आयोजकले देशभरका विवाहित महिलालाई आफ्नो क्षमता प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्ने अवसरको उपयोग गर्न आह्वान गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend