काठमाडौं । नेपाल मातृभूमि पार्टीका अध्यक्ष ओम प्रकाश विश्वकर्माले सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर फिर्ता लिने निर्णय गरेको भन्ने जानकारीप्रति स्वागत गरेका छन्। उनले उक्त निर्णयलाई जनभावनाको सम्मान भएको भन्दै सराहना गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष विश्वकर्माले अब सरकारले विद्युत् उपभोगमा लगाइएको कर पनि फिर्ता लिनुपर्ने बताएका छन्। उनका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण भविष्यमा इन्धन आपूर्तिमा समस्या आउन सक्ने अवस्था रहेको भन्दै वैकल्पिक ऊर्जाका रूपमा विद्युत्को प्रयोगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ।
उनले अहिलेको परिस्थितिमा नागरिकलाई विद्युत् प्रयोगतर्फ आकर्षित गर्न सहुलियत दिनुपर्ने भए पनि सरकारले उल्टै विद्युत्मा कर लगाएर गलत दिशा लिएको टिप्पणी गरेका छन्। समयको माग र परिस्थितिको मूल्याङ्कन गर्दै सरकारले जनमुखी निर्णय गर्नुपर्ने उनको भनाइ छ।
अध्यक्ष विश्वकर्माले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा कर लगाउने निर्णयलाई सुरुदेखि नै गलत भन्दै त्यसलाई “शवमाथि कर लगाउने” जस्तै असंवेदनशील निर्णय भएको उल्लेख गरेका छन्। उनले जनताको भावना विपरीत हुने कुनै पनि कर नीति दीर्घकालीन रूपमा स्वीकार्य नहुने बताएका छन्।
पोस्टको अन्त्यमा उनले “जय मातृभूमि, जय स्वाभिमान !!” भन्ने नारासहित सरकारलाई जनहितलाई केन्द्रमा राखेर नीति निर्माण गर्न आग्रह गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend