सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जन्मोत्सवमा कविता, मुक्तक र गीत गुञ्जिए : रविन्द्र आशिष शैलीको सम्मानमा सिर्जना वाचन

जन्मोत्सवमा कविता, मुक्तक र गीत गुञ्जिए : रविन्द्र आशिष शैलीको सम्मानमा सिर्जना वाचन

ललितपुर । विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाका उपाध्यक्ष रविन्द्र आशिष शैलीको जन्मोत्सवको अवसरमा विशेष सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ। साउन २ गते शनिबार इमाडोल–बोजेपोखरीस्थित बी बर्गर होटल एन्ड क्याफे, महालक्ष्मी–ललितपुरमा आयोजित कार्यक्रममा साहित्यकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्व तथा शिखर कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। जन्मोत्सवका अवसरमा स्रष्टा रविन्द्र आशिष शैलीले आफ्ना एक कविता, एक मुक्तक र एक गीत प्रस्तुत गर्दै उपस्थित साहित्यप्रेमीलाई भावपूर्ण साहित्यिक स्वाद चखाएका थिए।

प्रमुख अतिथि शैलेन्द्र साकारले शैलीलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै आफ्नो कविता वाचन गरेका थिए। वरिष्ठ साहित्यकार डा. युयुत्सु आर.डी. शर्माले पनि कविता प्रस्तुत गर्दै शैलीको सुस्वास्थ्य, दीर्घायु र निरन्तर साहित्यिक सिर्जनाका लागि शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा श्याम श्रेष्ठ, भुवन शिवाकोटी, जुमन किरण, बुद्धिमान महर्जन, श्रीराम पाण्डे, योगाज राजन कविराज, अन्चु सुवेदीलगायत सर्जकहरूले कविता तथा अन्य साहित्यिक सिर्जनाहरू वाचन गर्दै कार्यक्रमलाई थप सशक्त बनाएका थिए।

सभापति मणिराज सिंहले स्रष्टाहरूको जन्मोत्सवलाई साहित्यिक अभियानका रूपमा मनाउने परम्पराले साहित्यकारप्रति सम्मान अभिवृद्धि हुनुका साथै सिर्जनशील वातावरण निर्माण हुने बताए। उनले यस्ता सिर्जना वाचन कार्यक्रम आगामी दिनमा पनि निरन्तर आयोजना गरिनुपर्नेमा जोड दिए।

साहित्य, शुभकामना र सिर्जनात्मक अभिव्यक्तिले भरिएको उक्त कार्यक्रमले जन्मोत्सवलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी स्रष्टाको योगदानप्रति सम्मान व्यक्त गर्ने साझा साहित्यिक पर्वका रूपमा स्थापित गरेको सहभागीहरूले बताएका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend