सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पाँचौँ स्थापना दिवसमा नेपाल उद्योग व्यापार महासंघको प्रतिबद्धता : आत्मनिर्भर अर्थतन्त्र र व्यवसायीमैत्री नीतिमा जोड

पाँचौँ स्थापना दिवसमा नेपाल उद्योग व्यापार महासंघको प्रतिबद्धता : आत्मनिर्भर अर्थतन्त्र र व्यवसायीमैत्री नीतिमा जोड

काठमाडौं । नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमनारायण पराजुलीले महासंघको पाँचौँ स्थापना दिवसको अवसरमा आत्मनिर्भर अर्थतन्त्र निर्माण, राष्ट्रिय औद्योगिकीकरण तथा व्यवसायीमैत्री वातावरण सिर्जनाप्रति महासंघको प्रतिबद्धता दोहोर्याउनुभएको छ।

स्थापना दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष पराजुलीले राष्ट्रको आर्थिक समृद्धि, उत्पादनमूलक अर्थतन्त्रको निर्माण तथा साना, घरेलु, लघु एवं मझौला उद्योग–व्यवसायीहरूको हक, हित र अधिकारको संरक्षण गर्ने उद्देश्यसहित स्थापना भएको महासंघले पाँच वर्षको अवधिमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभएको छ।

उहाँले सीमित स्रोत र साधनका बाबजुद महासंघले देशभरका उद्योगी–व्यवसायीहरूको आवाज नीतिगत तहसम्म पुर्‍याउने, निजी क्षेत्रका साझा समस्या उठाउने तथा सरकारसँग निरन्तर संवाद र सहकार्य गर्दै आएको उल्लेख गर्नुभएको छ।

अध्यक्ष पराजुलीले महासंघको मूल मन्त्र “राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण” केवल नारा नभई राष्ट्र निर्माणको मार्गदर्शन भएको बताउँदै स्वदेशी उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना, उद्यमशीलताको विकास तथा आत्मनिर्भर अर्थतन्त्रमार्फत मात्रै नेपालको समृद्ध भविष्य सुनिश्चित गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ।

उहाँले वर्तमान समयमा निजी क्षेत्र लगानीको वातावरण, वित्तीय पहुँच, बजार विस्तार, उत्पादन लागत, कर प्रशासन, नीतिगत स्थायित्व तथा व्यवसायमैत्री वातावरण निर्माणजस्ता चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै यस्ता समस्याको समाधानका लागि महासंघले रचनात्मक सुझाव, नीतिगत पहल र व्यवसायीहरूको सामूहिक आवाजलाई अझ सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

साना तथा मझौला उद्यमीहरूलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा उल्लेख गर्दै अध्यक्ष पराजुलीले उनीहरूको संरक्षण, प्रवर्द्धन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिबिना समावेशी आर्थिक विकास सम्भव नहुने बताउनुभयो। महासंघले आगामी दिनमा व्यवसायीमैत्री नीति निर्माण, सहज वित्तीय पहुँच, औद्योगिकीकरण, नवप्रवर्तन, डिजिटल व्यापार, सीप विकास तथा युवा उद्यमशीलताको प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने पनि उहाँले स्पष्ट पार्नुभएको छ।

उहाँले महासंघको पाँच वर्षे यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण सदस्य, प्रदेश तथा जिल्ला समिति, वस्तुगत संगठन, सरकारी निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभएको छ।

त्यसैगरी महासंघलाई यहाँसम्म पुर्‍याउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने संस्थापक अध्यक्ष तथा सल्लाहकार परिषद्का प्रमुख श्यामबहादुर पाठक, निवर्तमान अध्यक्ष खिमलाल भण्डारी, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका संस्थापक अध्यक्ष तथा सल्लाहकार कृष्ण आचार्य, साविक नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका संस्थापक अध्यक्ष लक्ष्मीदास मानन्धर, पूर्वअध्यक्षहरू भरतकुमार श्रेष्ठ, लंकबहादुर केसी, मदनकुमार आचार्यलगायत अग्रज नेतृत्व, सल्लाहकार, संस्थापक संस्था, केन्द्र, प्रदेश, जिल्ला तथा पालिका शाखाका पदाधिकारी र कार्यसमिति सदस्यहरूप्रति विशेष धन्यवाद व्यक्त गर्नुभएको छ।

अन्त्यमा अध्यक्ष पराजुलीले स्थापना दिवसले सबै उद्योगी–व्यवसायीलाई अझ संगठित, जिम्मेवार र परिणाममुखी भएर राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण तथा व्यवसायीहरूको अधिकार र हित संरक्षणमा समर्पित हुन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण उद्योगी, व्यवसायी तथा आम नेपालीमा पाँचौँ स्थापना दिवसको हार्दिक बधाई तथा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गर्नुभएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend