काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारण सभा मंगलबार काभ्रेपलाञ्चोकको पनौतीमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ।
साधारण सभामा शेयरधनीहरूले चुनौतीपूर्ण आर्थिक परिस्थितिका बाबजुद संस्थाले सन्तोषजनक वित्तीय अवस्था कायम राख्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा सेवा विस्तार, सुशासन तथा संस्थागत सुदृढीकरणलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए।
त्यसैगरी, सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक स्वीकृत गर्ने प्रस्ताव पनि पारित गरेको छ। साथै, आवश्यकताअनुसार उपयुक्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन प्रक्रिया अघि बढाउन तथा संस्थाको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत सर्वसम्मत रूपमा स्वीकृत भएको छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लस्मालका अनुसार साधारण सभामा प्रस्तुत सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएका छन्। कार्यक्रमको संचालन कम्पनी सचिव रेशम न्यौपानेले गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend