काठमाडौं । माविलुङ्ग ईनर्जी लिमिटेडको वार्षिक साधारणसभा ललितपुरको कुपण्डोलस्थित कुपण्डोल बैंक्वेटमा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष होमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन तथा सोही अवधिको वार्षिक वित्तीय विवरणसमेत पारित गरेको छ। अनुमोदित वित्तीय विवरणमा वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन तथा त्यससँग सम्बन्धित सम्पूर्ण अनुसूचीहरू समावेश छन्।
त्यसैगरी, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गरेको कम्पनीले जनाएको छ।
साधारणसभामा कम्पनीको वित्तीय अवस्था, भावी कार्ययोजना तथा संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो। कम्पनीले आगामी दिनमा ऊर्जा क्षेत्रको विकासमा आफ्नो भूमिका अझ सुदृढ बनाउँदै लगानीकर्ताको विश्वास कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend