सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सार्वजनिक यातायातको भाडा घटाउन सरकारसँग अधिकारीको आग्रह

सार्वजनिक यातायातको भाडा घटाउन सरकारसँग अधिकारीको आग्रह

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेपछि सार्वजनिक यातायातको भाडा पनि स्वचालित प्रणालीअनुसार तत्काल समायोजन गर्नुपर्ने माग उठेको छ। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका संस्थापक अध्यक्ष तथा यातायात विज्ञ होमप्रसाद अधिकारीले इन्धनको मूल्य घटेको अवस्थामा यात्रुलाई पनि त्यसको प्रत्यक्ष लाभ पुग्ने गरी सार्वजनिक सवारीको भाडा घटाउन सरकारसँग आग्रह गरेका छन्।

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाउने निर्णय गरेसँगै अधिकारीले सार्वजनिक यातायातको भाडा पुनः निर्धारण गर्नुपर्ने बताएका हुन्। उनले सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएर सर्वसाधारणलाई राहत दिने प्रयास गरेको भन्दै नेपाल सरकारप्रति महासंघका तर्फबाट धन्यवादसमेत व्यक्त गरेका छन्।

अधिकारीले इन्धनको मूल्यमा हुने उतारचढावअनुसार सार्वजनिक यातायातको भाडा पनि पारदर्शी, वैज्ञानिक र स्वचालित प्रणालीमार्फत समायोजन हुनुपर्नेमा जोड दिए। उनका अनुसार इन्धनको मूल्य बढ्दा भाडा वृद्धि गर्ने निर्णय छिटो हुने तर मूल्य घट्दा भाडा समायोजनमा ढिलाइ हुने प्रवृत्तिले यात्रु र यातायात व्यवसायी दुवैलाई अन्योलमा पार्ने गरेको छ। यस्तो असन्तुलित अभ्यासले सरकारप्रतिको विश्वाससमेत कमजोर बनाउने उनको भनाइ छ।

उनले सार्वजनिक यातायातको भाडा निर्धारण केवल इन्धनको मूल्यमा मात्र आधारित हुन नहुने स्पष्ट पारे। सवारी साधन सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, चालक तथा सहचालकको पारिश्रमिक, स्पेयर पार्ट्सको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकहरूको वैज्ञानिक मूल्यांकन गरेर मात्र भाडा निर्धारण गरिनुपर्ने उनको धारणा छ।

यातायात क्षेत्रलाई दिगो, व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन सरकार, नियामक निकाय, यातायात व्यवसायी तथा उपभोक्ताबीच विश्वासको वातावरण निर्माण आवश्यक रहेको अधिकारीले उल्लेख गरे। उनले समयसापेक्ष र स्पष्ट मापदण्डमा आधारित स्वचालित भाडा समायोजन प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गरिए यात्रु र व्यवसायी दुवैको हित सुरक्षित हुने विश्वास व्यक्त गरे।

अधिकारीले सरकारले निर्धारण गरेको स्वचालित भाडा समायोजन प्रणालीलाई व्यवहारमै प्रभावकारी रूपमा लागू गर्नुपर्ने आवश्यकता औंल्याउँदै, इन्धनको मूल्य घटेको वर्तमान अवस्थामा सार्वजनिक यातायातको भाडा पनि सोही अनुपातमा समायोजन गरी यात्रुलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend