काठमाडौ १५ ,साउन । ज्येष्ठ नागरिकको हक अधिकार र सुरक्षाको बारेमा बेला बेलामा कुरा उठने गर्छन् । पछिल्लो समय छोरा छोरीले बाबु आमालाई बुढेसकालमा हेरचाह नगर्नेक्तम बढेको बताईन्छ । यस्तै प्रतिनिधिसभाका सांसदहरुले बाबुआमामा जिवित हुन्जेल सन्तानले सम्पत्तिमाथि हक दावी गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।
सत्तारुढ नेकपाकी सांसद विन्दा पाण्डेले जीवन रहेसम्म बाबुआमाको सम्पत्तिमाथि सन्तानले हक दावी गर्न नपाउने सरकारसँग माग गरिन् । संसदको महिला तथा सामाजिक समितिको बैठकमा मंगलबार ‘ज्येष्ठ नागरिकसम्बन्धि ऐनलाई व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले सन्तानले हकदावी गरेर बाबुआमाको सम्पत्ति लिने प्रचलित कानुनी व्यवस्था तत्काल हटाउनुपर्ने बताइन् ।
उनले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो पारिश्रमिकको १० प्रतिशत आफ्ना बुबाआमाको बैंक खातामा जम्मा गरिदिने प्रावधान सबैमा लागू नहुने भएकाले त्यसलाई विधेयकबाट हटाउन उनले सरकारको ध्यानाकर्षण गराइन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले गरिव ज्येष्ठ नागरिकको सम्पूर्ण जिम्मा लिने गरी सरकारले सबै स्थानीय तहमा अनिवार्य रुपमा ‘वद्धवृद्धा सेवा केन्द्र’ स्थापना गर्नुपर्ने प्रस्ताव राखे ।
पालन पोषण र औषधोपचारसहितको व्यवस्था हुने गरी सरकारले त्यस्तो केन्द्र स्थापना गर्ने कानुन बनाउनु पर्ने उनले सुझाव दिए ।
कांग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले ज्येष्ठ नागरिकहरुको आवाज सुनुवाईका लागि सबै संस्थाहरुमा उनीहरुको अनिवार्य प्रतिनिधित्व हुने गरी कानुनी व्यवस्था गर्न पर्ने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend