काठमाडौं १२, साउन । वैदेशिक रोजगार विभागमा पीडित भएको दावी गर्दै म्यानपावर कम्पनीविरुद्ध पर्ने उजुरीको विगो वास्तविकता भन्दा धेरै देखिएको छ । गत वर्ष म्यानपावर कम्पनी विरुद्ध विभागमा परेका उजुरीको विगो र फरफारक भएको विगो अंकको अन्तरले उक्त स्थिति देखाएको हो ।
विभागमा गतवर्ष म्यानपावर कम्पनी विरुद्ध १ हजार २ सय ६३ उजुरीमा २९ करोड ६३ लाख २० हजार ४ सय ३४ माग दावी गरिएको छ भने फरफारक भएको विगोको रकम १० करोड भन्दा कम रहेको छ ।
म्यानपावर कम्पनी विरुद्ध उजुरी परेपछि विभागले कडाईका साथ उजुरी सुन्ने र फरफारक गर्ने गरेको छ । विभागले उजुरीमा संलग्न प्रमाणको आधारमा तत्काल म्यानपावर कम्पनीलाई कामदारको रकम फिर्ता गर्ने विषयमा छलफल गर्न विभागमा बोलाउने र तोकिएको अवधिमा म्यानपावर कम्पनी सञ्चालक विभागमा उपस्थित नभएमा २४ घण्टे पत्र पठाई बोलाउने गरेको छ ।
उक्त अवधिमा पनि सञ्चालक विभागमा हाजिर नभए बैंकबाट कामदारलाई रकम भराई दिने गरेको छ । तर कडाई गर्दापनि उजुरीमा उल्लेखित विगोको एक तिहाई मात्र फर्छौट हुनुले विभागमा उजुरी गर्दा नै वास्तविकता भन्दा धेरै विगो दावी गरिने गरिएको भन्ने व्यवसायीहरुको भनाइलाई बल र्पुयाएको छ ।
म्यानपावर कम्पनी विरुद्ध मेलमिलापमा हुने वार्गे्निङमा पनि हात माथि पार्न धेरै रकमको दावी गर्ने गरिएको एक व्यवसायी बताउँछन् । उनी भन्छन्, ‘विभागबाट काम रोकिने डरले सहमतिमा जाँदा विभागले भराईदिन्छ भनेर कतिपयलाई सिकाएरै उजुरी हाल्न लगाइन्छ । कतिपयले उजुरी हाल्नु अघि पाएको रकम पनि लुकाएर विभागको उजुरीमा उल्लेख गर्ने गर्दैनन् ।
विभागमा संस्थागत अर्थात् म्यानपावर कम्पनीको तुलनामा करिब दोब्बर विगो दावी गरी व्यक्तिगत उजुरी पर्ने गरेको छ । गतवर्ष व्यक्तिगततर्फ ५३ करोड ६७ लाख २८ हजार ६ सय ८४ रुपैयाँ मागदावी गरी उजुरी परेको थियो । तर व्यक्तिगत ठगीको रकम फर्छौट हुने क्रम संस्थागतको तुलनामा धेरै न्यून रहने गरेको छ ।
क्यानडा, युरोपका विभिन्न देश, अमेरिका, जापान, अष्ट्रेलिया जस्ता विकसित मुलुकमा आकर्षक रोजगारीमा लागि लगाइदिने भन्दै व्यक्तिगत रुपमा ठगी हुने प्रवृति देखिएको विभागका अधिकारीहरुको भनाइ छ ।
वैदेशिक रोजगार बिभागको अनुसार गतवर्ष म्यानपावर कम्पनी बिरुद्ध मात्र १ हजार २ सय ६३ र व्यक्तिगत ७ सय ७६ उजुरी परेका छन् । तर विगो हेर्दा म्यानपावर कम्पनी बिरुद्ध मात्र कुल २९ करोड ६३ लाख २० हजार ४ सय ३४ रुपैयाँ र व्यक्तिगततर्फ ५३ करोड ६७ लाख २८ हजार ६८४ रुपैयाँ दावी रहेको छ । यो समाचार मध्यान्ह दैनिकबाट साभार गरिएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend