काठमाडौं १०, श्रावण । बालुवाटार जग्गा विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका तीन नेतासँग घरमै गएर बयान लिने भएको छ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा सारेर बिक्री गर्न विभिन्न तरिकाले योगदान गरेका व्यक्तिसँग बयान लिने क्रममा आयोगले नेताहरुसँग पनि बयान लिन भएको हो ।
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपाल, काँग्रेस उपसभापति विजय गच्छदार, पूर्व प्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा महासचिव विष्णु पौडेलसँग अख्तियारले बयान लिने अन्तिम तयारी भैरहेको अख्तियार सुत्रले बताएको छ ।
बालुवाटारको जग्गा व्यक्तिको नाममा लाने प्रशासकीय प्रक्रिया पूरा गर्दा माधव प्रधानमन्त्री र गच्छदार भौतिक योजना मन्त्री थिए । बालुवाटारको जग्गामध्ये विष्णु पौडेलको छोराको नाममा आठ आना जग्गा छ । जग्गासँग जोडिएका एक सयभन्दा बढी व्यक्तिसँग अख्तियारले बयान लिइसकेको छ ।
उनीहरुलाई सूचना निकालेर र पत्रसमेत पठाएर बयानका लागि बोलाइएको थियो । यसअघि अख्तियारले ११ असारमा सूचना जारी गरी ८६ जनालाई बयानका लागि बोलाएको थियो ।
अख्तियारले ललिता निवास क्याम्प भित्र पर्ने बालुवाटारको दुई सय ९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंका कर्मचारीको मिलेमतोमा अवैध तरिकाले व्यक्तिविशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको उजुरी परेकाले अनुसन्धानका सिलसिलामा केही बुझ्नुपर्ने भन्दै म्याद सूचना प्रकाशन गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend