१५ साउन, काठमाडौं । देशभर मनसुनी वायुको सक्रियता जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमै रहेकाले मनसुनी प्रभाव देशभर महसुस भइरहेको छ ।
आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रहरूमा सामान्यतया आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । यस्तै, सुदूरपश्चिमलगायतका पहाडी भागका केही स्थानमा र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशसहित देशका अन्य पहाडी भूभागमा सामान्य बदली रहँदा तराई भेगमा आंशिक बदली रहने देखिएको छ । यस्ता मौसमी अवस्थाले मधेस र सुदूरपश्चिम प्रदेशसहितका पहाडी क्षेत्रमा राति पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने संकेत दिइएको छ ।
महाशाखाले सम्भावित वर्षाका कारण भूक्षय, बाढी र गेग्रान बहावको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम पनि बढ्न सक्ने भन्दै सम्बन्धित निकायलाई आवश्यक सतर्कता र पूर्वतयारीमा जुट्न महाशाखाले अनुरोध गरेको छ ।
अत्यधिक वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले जनमानसमा सतर्कता अपनाउन तथा सरोकारवालाहरुलाई सजग रहन महाशाखाले अपिल गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend