१२ साउन, काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स् एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको बहुप्रतीक्षित ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ सवारी प्रदर्शनीमात्र नभई रोजगारी, प्रविधि र सिकाइको उत्सव हुने दाबी गरेको छ। आगामी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने यस प्रदर्शनीमा ५० वटा प्रतिष्ठित अटो ब्रान्डहरूले सहभागिता जनाउने भएका छन्।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक नाइमाले एक्स्पोमा ८० हजारभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको बताएको छ। पेट्रोल, इभी (इलेक्ट्रिक) र हाइब्रिड गाडीहरूको बहुविध प्रदर्शनीले दर्शकहरूलाई नयाँ प्रविधिसँग प्रत्यक्ष साक्षात्कार गराउने विश्वास आयोजकले लिएको छ।
नयाँ प्रविधि, रोजगारी र आकर्षक अफर
नाइमा मोबिलिटी एक्स्पोका संयोजक शिरिष मुरारकाले ५० भन्दा बढी ब्राण्डले आफ्ना नवीनतम उत्पादन र प्रविधिहरू प्रस्तुत गर्ने जानकारी दिए। उनका अनुसार अटोमोबाइल क्षेत्रले नेपालमा प्रत्यक्षरूपमा २५ देखि ३० हजार मानिसलाई रोजगारी दिएको छ।
“यो प्रदर्शनी केवल गाडी देखाउने वा बेच्ने थलो होइन, रोजगारी कसरी सिर्जना भइरहेको छ भन्ने बुझाउने अवसर पनि हो,” मुरारकाले भने।
प्रदर्शनीमा करिब ३५ नयाँ मोडेलका सवारी सार्वजनिक गरिने र ग्राहकका लागि विशेष छुट तथा योजना ल्याइने बताइएको छ। विद्यार्थीहरूलाई लक्षित गरी १०० रुपैयाँ र अन्य दर्शकका लागि २०० रुपैयाँ टिकट शुल्क तोकिएको छ, जुन खल्ती र ईसेवा जस्ता डिजिटल वालेटमार्फत किन्न सकिनेछ।
सुविधा र समावेशी पहुँचमा विशेष ध्यान
अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा सहयोग आवश्यक परेकाहरूका लागि स्वयंसेवकहरूको टोली खटाइने र ईभी प्रयोगकर्ताका लागि चार्जिङ स्टेसनको व्यवस्था गरिने बताइएको छ। यसले प्रदर्शनीलाई समावेशी र दर्शकमैत्री बनाउन सहयोग गर्ने आयोजकको भनाइ छ।
नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले प्रदर्शनीलाई “अवसरै अवसर” को उत्सवको रूपमा परिभाषित गरिन्। “यो कुनै चुनौती होइन,” उनले भनिन्, “हामीले यसको उपयोग सिक्न, देख्न र समझ्न गर्ने अवसरको रूपमा गरिरहेका छौं।”
सिकाइ, संवाद र छात्रवृत्तिको संयोजन
एक्स्पो अवधिभर विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञहरूको सहभागितामा ‘मोबिलिटी’ सम्बन्धी प्यानल छलफल, संवाद सत्र र लर्निङ सेसनको आयोजना गरिनेछ। पहिलो दिन अनिल केशरी शाहले “मोबिलिटी हिजो, आज र भोलि” विषयमा सत्र सञ्चालन गर्नेछन्।
अन्य सत्रहरूमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, योजना आयोग, अर्थ मन्त्रालय, तथा भारतको इन्स्टिच्युट अफ रोड ट्राफिक एजुकेशनका विज्ञहरू सहभागी हुनेछन्।
मोबिलिटी विषयमा युवाहरूलाई प्रोत्साहन गर्न बिक्री भएका टिकटको ५ प्रतिशत आम्दानीबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सँगको सहकार्यमा छात्रवृत्ति र फेलोशिप प्रदान गरिनेछ।
क्रियटिभ प्रतिस्पर्धा : १ लाख रुपैयाँ पुरस्कार
युवाहरू तथा कन्टेन्ट क्रियटरहरूलाई लक्षित गर्दै नाइमाले १ लाख रुपैयाँको आकर्षक पुरस्कारसहितको भिडियो कन्टेन्ट प्रतिस्पर्धा पनि घोषणा गरेको छ। प्रतियोगितामा श्रावण २१ गते (अगस्ट ६) बेलुका ७ बजेसम्म भिडियो पोस्ट गर्न सकिनेछ।
सबैभन्दा धेरै भ्युज प्राप्त गर्ने भिडियोले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने अन्य १० उत्कृष्ट भिडियोलाई १०/१० हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ।
उपभोक्ता, उत्पादक र प्रविधिको संगम
नाइमाले यस एक्स्पोलाई नेपाली अटोमोबाइल उद्योगको साझा मंचका रूपमा प्रस्तुत गरेको छ, जहाँ उपभोक्ता, उत्पादक र बिक्रेता एकै थलोमा आउनेछन्। रोजगारी, प्रविधि र उपभोक्ता सुविधालाई केन्द्रमा राखी आयोजना गर्न लागिएको यो एक्स्पोले नेपाली अटो उद्योगलाई थप संस्थागत र भविष्यमुखी बनाउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend