८ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) अमेरिकाको नयाँ नेतृत्व निर्विरोध चयन भएको छ। निर्वाचन कार्यक्रमअनुसार सबै पदका लागि एक–एक मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले पदाधिकारीहरूलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
निर्वाचन कार्यक्रम अनुसार यही जुलाई २७ र २८ मा निर्वाचन हुने भनिएको थियो। तर, उम्मेदवार संख्या एकल भएपछि आयोगले सबै पदमा निर्वाचन नगरी सोझै निर्विरोध चयन प्रक्रिया अपनाएको हो। प्रारम्भमा केही पदमा एकभन्दा बढी उम्मेदवारी परेपनि, संघका अगुवाहरूको पहलमा सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल भएको आयोगले जानकारी दिएको छ।
निर्विरोध निर्वाचित नयाँ पदाधिकारीहरूमा विकास उप्रेती अध्यक्षमा, प्रेम तामाङ वरिष्ठ उपाध्यक्षमा तथा दीपक पाण्डे, दिवाकर सापकोटा, कुमार तामाङ, थलविर ओली उपाध्यक्षहरूमा चयन भएका छन्। महिला उपाध्यक्षमा शान्ति पौड्याल र युवा उपाध्यक्षमा विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन्।
त्यस्तै, महासचिवमा रामचन्द्र पन्त, सचिवमा प्रचण्ड श्रेष्ठ, महिला सचिवमा संगीता लामा लामिछाने, कोषाध्यक्षमा कमल ढुंगाना र सह–कोषाध्यक्षमा मनोजकुमार ठगुन्ना चयन भएका छन्। महिला संयोजकमा सावित्रा सिवाकोटी र युवा संयोजकमा आशिष सङ्ग्रौला निर्विरोध चुनिएका छन्।
यद्यपि, निर्वाचन प्रक्रियामा एकरुपता कायम हुन सकेको छैन। अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) र परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार जुलाईभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यताका बीच विवाद उत्पन्न भएको हो। आइसिसीले गठन गरेको विशेष निर्वाचन समितिको सहायतामा हालै सम्पन्न निर्वाचनमा एक पक्ष सहभागी भए पनि वासु फुलाराको नेतृत्वमा रहेको अर्को पक्षले निर्वाचन स्वीकार नगरेर आगामी अगस्ट १७ र १८ मा छुट्टै निर्वाचनको मिति घोषणा गरिसकेको छ।
फुलाराको पक्षले एनसिसी अमेरिका अमेरिकाको कानुनी हैसियत सामाजिक संस्थाका रूपमा दर्ता भएकाले आइसिसीको निर्देशन बाध्यकारी नरहेको जिकिर गर्दै अलग प्रक्रिया सुरु गरेको हो। यसले गर्दा गैरआवासीय नेपाली संघ अमेरिकाभित्र नेतृत्व चयनमा दुई पक्षीय मतभेद गहिरिएको छ।
दुई पक्षबीचको यो गहिरिँदो विवादले एनआरएनए अमेरिका मात्र नभई सम्पूर्ण विश्वव्यापी एनआरएन अभियानको एकता र विश्वसनीयतामा प्रश्न उठाएको छ। संघको आगामी कार्यदिशा र नेतृत्वको वैधता सम्बन्धी बहस अझ चर्कने संकेत देखिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend