५ साउन, काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र आयोजक बङ्गलादेशबीच आज साँझ निर्णायक भिडन्त हुँदैछ। ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा हुने खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ।
प्रतियोगिताको यो अन्तिम तथा सर्वाधिक महत्त्वपूर्ण खेलमा नेपालले जित हात पार्नैपर्ने बाध्यता छ भने घरेलु टोली बङ्गलादेश बराबरी नतिजाले नै उपाधि जित्नेछ। यसअघि लिग चरणको खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो। त्यस बाहेक नेपालले भुटान र श्रीलङ्कामाथि सानदार जित दर्ता गर्दै फाइनल यात्रा तय गरेको हो।
हालसम्म पाँचै खेल जित्दै बङ्गलादेश १५ अंकका साथ शीर्ष स्थानमा उभिएको छ भने चार जितसहित १२ अंक जोडेको नेपाल दोस्रो स्थानमा रहेको छ। यस अर्थमा नेपाललाई उपाधि जित्न आजको खेलमा जित अत्यावश्यक छ, अन्यथा उपाधि बङ्गलादेशकै पोल्टामा जानेछ।
यसअघि आज दिउँसो २:४५ बजे भुटान र श्रीलङ्काबीच पनि प्रतिस्पर्धा हुँदैछ। तीन अंक जोडेको भुटान प्रतियोगिताको तेस्रो स्थानमा रहेको छ भने श्रीलङ्का कुनै अंक नजोडी पुछारमा छ।
आजको खेलले नेपालका युवा महिला खेलाडीहरूको क्षमता, जोश र समर्पणको परीक्षण पनि गर्नेछ। नेपालको लागि यो उपाधि जित मात्र होइन, भावी अन्तर्राष्ट्रिय सफलताको ढोका समेत खोल्ने अवसर हो। फुटबलप्रेमीहरू नेपाली टिमलाई उत्साहपूर्वक समर्थन गरिरहेका छन् र आजको खेल नेपालका लागि ऐतिहासिक बन्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend