३० असार, काठमाडौं । अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–६, खिल्जी रामकोटका स्थायी निवासी रमेश पौडेलले एनआरएनए अष्ट्रेलियाको आगामी निर्वाचनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। हाल ब्रिजवेनमा बसोबास गर्दै आउनुभएका पौडेलले लामो समयदेखि अष्ट्रेलियामा रहेर नेपाली समुदायको हितमा काम गर्दै आउनुभएको छ। उहाँले आफ्नो उम्मेदवारी एनआरएनभित्र व्याप्त अपारदर्शी निर्णय प्रक्रियाको अन्त्य गर्दै जवाफदेहिता मार्फत विश्वास पुनर्निर्माण गर्ने उद्देश्यसहित घोषणा गर्नुभएको हो।
पौडेलले एनआरएनएभित्र एकता, पारदर्शिता र समावेशी नेतृत्वको खाँचो रहेको महसुस गर्दै आफू नेतृत्वमा आएर सो अभाव पूर्ति गर्ने अठोट व्यक्त गर्नुभएको छ। नेपाल सरकारसँग प्रवासी नेपालीमैत्री नीतिको वकालत गर्ने, विदेशमा रहेका नेपालीको नेपालस्थित सम्पत्तिको कानुनी सुरक्षा सुनिश्चित गर्ने र एनआरएन नागरिकताको लागि दबाब सृजना गर्ने उहाँका प्रमुख एजेन्डाहरू छन्। सन् २०११ देखि एनआरएनए अष्ट्रेलियामा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएका पौडेल अनुभवका हिसाबले बलियो उम्मेदवारको रूपमा प्रस्तुत हुनुभएको छ।
यस उपाध्यक्ष पदका लागि मेलवर्नका बबिन मिश्रले पनि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ। शिक्षा र माइग्रेसन क्षेत्रमा क्रियाशील मिश्र एनआरएनए अष्ट्रेलियाका प्रवक्ता र युवा संयोजकको भूमिकामा काम गरिसक्नुभएको छ। अष्ट्रेलियामा यही जुलाई २६ मा एनआरएनए निर्वाचन हुन लागेको छ, जसले संगठनको भावी नेतृत्वको दिशा तय गर्नेछ। पौडेल र मिश्रबीचको प्रतिस्पर्धा एनआरएन अभियन्ताहरूका लागि चासोको विषय बनेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend