२६ असार , काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको मान्यतासहित फेरि एकपटक नेपालको बैकिङ्ग प्रतिष्ठा उचो बनाएको छ। विश्वविख्यात ग्लोबल फाइनान्स म्यागाजिनले ग्लोबल आइएमई बैंकलाई “बेष्ट बैंक अफ नेपाल २०२५” को उपाधिबाट सम्मानित गरेको हो। यो सम्मान पाउँदै बैंक लगातार दोस्रो वर्ष उक्त अवार्ड जित्न सफल भएको छ।
ग्लोबल आइएमई बैंकलाई सन् २०२४ मा पनि यही म्यागाजिनले नेपालका लागि उत्कृष्ट बैंकको मान्यता दिएको थियो। यो सम्मानले बैंकको विश्वसनीयता, वित्तीय व्यवस्थापन क्षमता, व्यापक ग्राहक पहुँच, व्यवसायिक दक्षता, र नवप्रवर्तनशील सेवा प्रणालीलाई एकपटक पुनः पुष्टि गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यो सम्मानलाई बैंकका सम्पूर्ण ग्राहक, सेयरधनी, कर्मचारी र नियामक निकायहरूको समर्पण र साथको परिणाम भन्दै आभार व्यक्त गरेका छन्। “यसले हामीलाई अझ उत्कृष्ट र नविनतम सेवा दिन थप प्रेरणा दिएको छ,” रेग्मीले भने।
ग्लोबल फाइनान्सले बैंकहरूको मूल्याङ्कन गर्दा विश्वसनीयता, वित्तीय श्रोत परिचालन क्षमताहरू, पहुँच विस्तार, रणनीतिक साझेदारीहरू, ग्राहकमैत्री प्रविधि र क्रेडिट रेटिङ्स जस्ता मापदण्डलाई आधार मान्दछ। ग्लोबल आइएमई बैंकले यी सबै सूचकहरूमा मजबुत उपस्थिति जनाउँदै नेपालको बैंकिङ क्षेत्रमा अग्रणी बन्न सफल भएको छ।
ग्लोबल आइएमई बैंकसँगै भारतको स्टेट बैंक अफ इन्डिया, हङकङको HSBC, चीनको चाइना कन्स्ट्रक्सन बैंक, मलेशियाको UOB मलेशिया, बङ्लादेशको सिटी बैंक, जापानको SMBC लगायत विश्वका प्रमुख बैंकहरूलाई समेत २०२५ को उत्कृष्ट बैंकका रूपमा सम्मान गरिएको छ।
ग्लोबल आइएमई बैंक हाल ७७ वटै जिल्लामा सेवा केन्द्र रहेको नेपालकै पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकसँग ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा केन्द्र, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालय सहित १,००० भन्दा बढी सेवा केन्द्र छन्।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई लगायतका देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आइरहेको छ, जसले विदेशमा रहेका नेपालीहरूलाई सुलभ र भरपर्दो सेवा सुनिश्चित गरेको छ।
ग्लोबल आइएमई बैंक विगतमा पनि बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट इम्प्लोयर, बेष्ट ईएसजी बैंक नेपाल २०२४ लगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू जितिसकेको छ। यस्ता सम्मानले बैंकको दीर्घकालीन दृष्टिकोण, पारदर्शिता, सामाजिक उत्तरदायित्व र नवप्रवर्तनशील सेवाहरूमा केन्द्रित कार्यशैलीको द्योतक हो।
ग्लोबल आइएमई बैंकको दोस्रोपटक ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड जित्नु केवल एउटा बैंकको गर्व मात्र होइन, नेपाली बैंकिङ क्षेत्रको क्षमता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उपस्थिति प्रमाणित गर्ने माइलस्टोन पनि हो।
बैंकले आगामी दिनमा अझ नविनतम् र समावेशी सेवा विस्तार गर्दै ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ। यस्तो अन्तर्राष्ट्रिय पहिचानले न केवल बैंकको साख बढाएको छ, देशको आर्थिक प्रतिष्ठामा समेत योगदान पुर्याएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend