सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

खिल्जीका वरिपरि बाढीझै–युवा पलायन: बाध्यता र आशा

खिल्जीका वरिपरि बाढीझै–युवा पलायन: बाध्यता र आशा

राम प्रसाद गैरे (आरपी)

२५ असार, काठमाडौं । आज बिहान सामाजिक सञ्जालमा एउटा दृश्य देखेँ—मूलतः खुसीको, तर गहिराइमा पीडाले भरिएको। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–६, खिल्जी गाउँका  आधा दर्जन युवा पोर्चुगल उडेका तस्बिरहरू फेसबुक र इन्स्टाग्राममा प्रसारित भइरहेका थिए। बुवा–आमाको अँगालो छोड्दै, बिदाइमा आकाशतिर हेर्दै आँखा रसाएका ती युवाहरूको मुहार मलिन थियो। फोटोमा लेखिएको थियो—“शुभ यात्रा” र “युरोप यात्रा सफल होस्।” हेर्दा लाग्छ, यिनीहरू रहरले होइन, बाध्यताले सात समुन्द्र पार गइरहेका छन्।

गाउँको यथार्थ फरक छैन। जोसिला हातहरू ओइलिइसकेका छन्। खेतबारी बाँझिएको छ। कुनै बिरामी परे–अस्पताल लाने मान्छे छैनन्। मान्छे मरे–लास उठाउने काँध छैन। यस्ता वाक्य अब कल्पना होइन, गाउँको दैनिकता हो। अब गाउँले पनि जान्छन्–बुहारी  पनि  बिदेशिन्छिन्, छोराहरू जवान भएपछि विदेशिन्छन्। बाँकी ? साना बालबालिका र बृद्धबृद्धाहरू।

यो खाली एउटा गाउँको कथा मात्र होइन। देशभरका गाउँको साझा नियति हो। तर मेरो लेखको केन्द्र आजको दिनमा खिल्जीका ती भाइहरू हुन्, जसले आफ्नो जीवन बदल्न युरोपको बाटो रोजे। उनीहरूका घरमा लाखौं रुपैयाँ ऋण लाग्यो, कतै बन्धकी राखियो, कतै सुन बेचियो, कतै आफन्तसँग सापटी मागियो। कसैले कर्जा तिरेर उड्नेछन्, कसैले विदेशमै थर्काइ थर्काइ महिना बिताउनेछन्। सबैको आशा एउटै—“घरको अवस्था सुधार्नु छ।” यत्रो मूल्य तिरेर विदेश जानु पक्कै पनि रहर होइन, जीवन जोगाउने भरपर्दो माध्यम भएको छ अब त।

गाउँमा बस्न नसक्नुको कारण एकदमै स्पष्ट छ। यहाँ रोजगारी छैन। युवाले सीप सिक्ने अवसर छैन। शिक्षापछि गरिने काम छैन। हो, सरकारका भाषणहरूमा उत्पादनमूलक कृषि, आत्मनिर्भरता, लघु उद्योग, सहकारी, स्वरोजगार, स्टार्टअप—सबै कुरा छन्। तर त्यो भाषण काठमाडौँमा बज्छ, कार्यान्वयनको सुई चाहिँ गाउँ आउँदासम्म हराउँछ। त्यसैले यो देशको युवा अब “सबैथोक देशमै” होइन, “काम जेहोस्, विदेशमै” भन्ने मनस्थितिमा गइसकेको छ।

म एक दाइसँग सोध्छु, “कता गएका हुन् त यिनीहरू?” दाइको जवाफ हुन्छ, “पोर्चुगल।” अनि अर्को प्रश्न आफैं आइहाल्छ—“खर्च कति लाग्दो हो ?” दाइ भन्छन्, “१८ लाख जति।” अठार लाख! त्यो पनि कुनै कूटनीतिक सहयोग वा राज्य नियन्त्रित कार्यक्रमअन्तर्गत होइन, निजी एजेन्टमार्फत। यत्रो रकम तिराएर एक जना युवा विदेशिन्छ भने, त्यो घरमा कति पीडा र आशा बाँधिएको होला? यस्ता खर्चमा काम पाइने ग्यारेन्टी छैन। कतिपय साथीहरू श्रम शोषणमा परेका छन्, कतिले उचित तलब पाउँदैनन्, कतिका तलब नै रोकिन्छन्, कतिका अभिभावक अझै ऋणको किस्ता बुझाउन सक्दैनन्। पोर्चुगल पुग्नु भनेको स्वर्गको ढोका हो भन्ने भ्राम छ, तर त्यो स्वर्गतिर पुग्ने बाटो काँडाबाट ढाकिएको हुन्छ।

युवाको विदेश पलायनको अर्थ केवल जनसंख्या घट्नु मात्र होइन, गाउँको सामाजिक संरचना नै टुक्रिनु हो। आज कसैले छोरा विदेश पठायो, भोलि छिमेकीले पठाउँछ। कुनै गाउँमा विवाहका योग्य केटाहरू भेटिँदैनन्। धेरै गाउँमा अब महिलाहरूको मात्र वर्चस्व देखिन्छ। खेत, सिँचाइ, मेलापात—सबै काममा महिला छन्। अभिभावक वृद्ध छन्, तिनलाई स्याहार्ने कोही छैन। कहिलेकाहीँ लाग्छ, देश विकास गर्ने शक्ति त विदेश गइसकेको छ—यहाँ शेष छ मात्र शून्यता।

तर फेरि मन सोच्छ—यी भाइहरूको यात्रा सफल होस्। कम्तीमा उनीहरू स्वास्थ्यसहित काम गरून्, परिवारलाई सान्त्वना दिउन्। गाउँ फर्कँदा केही सीप, पुँजी र हिम्मत लिएर फर्कून्। उनीहरूले गाउँलाई फर्केर जीवन्त बनाउन सकोस्। तर त्यति आशा त्यति सजिलो छैन। अधिकांशले फर्कन पाउँदैनन्, फर्के पनि ऋणको भारी बोकिरहेका हुन्छन्।

नेपाल सरकार र सरोकारवाला निकायले यो निरन्तर बढ्दो वैदेशिक पलायनलाई गम्भीरतापूर्वक लिन आवश्यक छ। किन युवा गाउँमा बस्न सक्दैनन् ? किन उनीहरूले पाएको शिक्षाले रोजगार सिर्जना गर्दैन? किन सीपमूलक तालिमहरू गाउँसम्म पुग्दैनन्? किन सहकारी र लघु उद्योगमा ठोस लगानी हुँदैन? यस्ता प्रश्नहरूको उत्तर खोज्न हामीले बहस मात्र होइन, नीतिगत साहस आवश्यक छ।

हामीले वैदेशिक रोजगारीलाई विकल्प होइन, अन्तिम उपायको रूपमा हेर्नुपर्छ। देशभित्र रोजगारी सिर्जना गर्न सकिएन भने हामी सामाजिक विघटनतिर जाँदैछौँ। न त सधैं युवालाई विदेश पठाएर देशको आर्थिक समृद्धि सम्भव छ, न त उनीहरूको श्रमशोषणबाट सन्तुलित समाजको निर्माण।

अन्ततः, म ती भाइहरूलाई शुभकामना दिन्छु। तिनीहरूको यात्रा सुरक्षित होस्। उनीहरूले कमाई सँगसँगै सीप पनि बटुलून्। एउटा दिन गाउँ फर्केर त्यो पैसा र सीपले आफ्नै ठाउँ उज्यालो बनाऊन्। तर आज म भने गाउँको सुनसान गल्ली हेरिरहेको छु, जहाँ उनीहरूले आफ्नो डोबिलो छोडेर गएका छन्। गाउँ रित्तिँदै छ, तर मनले त्यो ठाउँ भरिएको देख्न अझै आशा बाँधिरहेको छ—शायद कसैले फर्किएर फेरि गाउँ जगाउनेछ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend