आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक

सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक

 

राम प्रसाद गैरे,

२३ असार, काठमाडौं ।  नेपालको मौलिक कला, संस्कृति र पहिचानलाई जगेर्ना गर्दै नयाँ पुस्तामा राष्ट्रिय भावना र जनचेतना अभिवृद्धि गर्न नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ऐतिहासिक कदम चाल्दै एकैसाथ दुईवटा म्युजिक भिडियो र सातवटा अडियो रेकर्ड गीत सार्वजनिक गरेको छ। प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१ का प्रदेशगत विजेता सातवटै गीतलाई औपचारिक रूपमा आज सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमध्ये दुईवटा गीतको म्युजिक भिडियो र बाँकी पाँचवटा गीतको अडियो रेकर्ड मात्र सार्वजनिक गरिएको प्रतिष्ठानले जानकारी दिएको छ।

कार्यक्रममा शिक्षा र चेतनाका लागि सन्देश दिने उद्देश्यले तयार गरिएको ‘तीते तीते’ बोलको म्युजिक भिडियोलाई विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको थियो। यस गीतमा अभि लामाको निर्देशन, प्रकाश सापकोटाको शब्द, महेश खड्काको संगीत र शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ। भिडियोलाई जीवन्त बनाउन अभिनेतृ बिना रावत र अभिनेता अलि तामाङको दमदार अभिनय प्रस्तुत गरिएको छ। गीतले शिक्षामा सुधार र चेतना विस्तारका लागि समाजमा सशक्त प्रभाव पार्ने अपेक्षा गरिएको छ।

त्यस्तै अर्को विशेष भिडियो ‘लहबीरे’ पूर्वी पहाड ओखलढुंगाको बायुङ, थुलुङ र वाम्बुले समुदायमा प्रचलित लोपोन्मुख लहबीरे भाकामा आधारित छ। यो गीतले लोपोन्मुख सांस्कृतिक सम्पदालाई पुनर्जीवित गर्दै पहिचान संरक्षणमा ऐतिहासिक योगदान दिने विश्वास गरिएको छ। गीतमा लाहाङ सुब्बाले संगीत संयोजन गरेका छन् भने कुमार प्रयास, परेश राई, तेजकुमार राई, इन्द्रकला राई, मनमाबी राई र रश्मी राईको आवाज सुन्न पाइन्छ। भिडियोलाई अभि लामाले नै निर्देशन गरेका हुन्।

यति मात्र होइन, सातै प्रदेशका मौलिक भाकालाई समेट्दै प्रतियोगिताबाट छानिएका अन्य पाँचवटा गीतको अडियो पनि सार्वजनिक गरिएको छ। कोशी प्रदेशतर्फ तेजकुमार राईको शब्द, महेश खड्काको संगीत र सन्दीप पनेरु तथा प्रिया पोखरेल पनेरुको स्वर रहेको गीतले पूर्वी पहाडको संस्कृतिलाई उजागर गरेको छ। मधेस प्रदेशबाट लिलाराज दाहालको शब्द, वसन्त सापकोटाको संगीत, प्रल्हाद तिमल्सिना र मनिषा सुनारको स्वर रहेको गीत सार्वजनिक गरिएको छ, जसले तराईको जीवनशैली र सांस्कृतिक विविधतालाई चित्रण गरेको छ।

बागमती प्रदेशतर्फ सिर्जना अर्यालको शब्द, शान्तिराम राईको संगीत र रोशन राईको स्वर रहेको गीतले काठमाडौं उपत्यकाको सांस्कृतिक धरोहरलाई सजीव बनाएको छ। लुम्बिनी प्रदेशबाट वसन्तकुमार आचार्यको शब्द, आशीष अविरलको संगीत र स्वर रहेको गीतले शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सन्देश बोकेको छ।

गण्डकी प्रदेशतर्फ बाबुराम श्रेष्ठको शब्द, श्रीकृष्ण बम मल्लको संगीत र लक्ष्मी मल्ल, सारिका घिमिरे, उषा गजुरेल र योगेश काजी शाहको स्वर रहेको गीतले हिमाली क्षेत्रको सांस्कृतिक बहुलतालाई समेटेको छ। कर्णाली प्रदेशको गीतमा क्षितिज समर्पणको शब्द, महेश खड्काको संगीत र मिलन खपाङ्गी तथा मिना चौधरीको स्वर छ, जसले सुदूर र विकट कर्णालीको जीवन र उत्साहलाई झल्काएको छ।

सुदूरपश्चिम प्रदेशको धीरन नाथको शब्द, शान्तिराम राईको संगीत र रोशन राईको स्वर रहेको गीतले सुदूरपश्चिमको मौलिकता र जनभावनालाई उजागर गरेको छ। यी सबै गीतहरू नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको प्रतिष्ठानले जनाएको छ।

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा कुलपति निशा शर्मा पोखरेलले सम्बोधन गर्दै राष्ट्रियता, सांस्कृतिक संरक्षण र सामाजिक चेतना फैलाउन गीत, संगीत र म्युजिक भिडियोलाई अझ प्रभावकारी माध्यम बनाउने प्रयासस्वरूप यो परियोजना अघि बढाइएको बताइन्। उनले आधुनिकतासँगै मौलिकता हराउँदै गएको अवस्थामा गीतसंगीतको माध्यमबाट नेपालीपनको पुनःस्थापना र जगेर्ना गर्नुपर्नेमा जोड दिइन्।

त्यस्तै, कार्यक्रममा संयोजक तथा प्रतिष्ठानका उपकुलपति शम्भु राईले बढ्दो विदेशी सांस्कृतिक प्रभावबीच मौलिक नेपाली कला र संस्कृति बचाइराख्न सबै क्षेत्रका सरोकारवालालाई एकजुट भएर काम गर्न आग्रह गरे। उनले यस्ता कार्यक्रमले नेपाली सांगीतिक परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ले सातै प्रदेशका गीतहरूको भिडियो निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले सार्वजनिक भएका दुई भिडियोमा जस्तै अन्य गीतहरू पनि दृश्यात्मक रूपमा उतार्ने योजना रहेको बताउँदै समग्रमा नेपाली संगीतमा नयाँ लहर ल्याउने प्रयास जारी रहेको जानकारी दिइन्।

कार्यक्रममा सार्वजनिक भएका गीत र भिडियोका निर्देशक, गीतकार, संगीतकार र गायक-गायिकालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। यसले नेपाली सांगीतिक क्षेत्रका सिर्जनशील प्रतिभाहरूलाई हौसला थपेको सहभागीहरूको भनाइ छ।

नक्सालस्थित प्रज्ञा प्रतिष्ठानको कार्यालय भवनमा आयोजित कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुति र भिडियो प्रिमियरमार्फत सांस्कृतिक माहोल बनेको थियो। कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, सांगीतिक क्षेत्रका वरिष्ठ कलाकार, पत्रकार, विद्यार्थी, सांगीतिक संस्था तथा संघ-संस्थाका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति थियो।

कार्यक्रममा उपस्थित कलाकारहरूले सार्वजनिक गीत र भिडियोले नेपाली मौलिकता मात्र नभई विभिन्न जातजाति, भाषाभाषी र भूगोललाई समेत समेटेर एकताको सन्देश दिएको बताए। उनीहरूले यस्ता सांगीतिक आयोजनाले प्रादेशिक र जातीय सद्भाव बढाउने विश्वास व्यक्त गरे।

यस्तै सहभागीहरूले प्रज्ञा प्रतिष्ठानले विभिन्न प्रदेशका मौलिक भाकालाई उजागर गरी लोपोन्मुख सांगीतिक धरोहरलाई संरक्षित गर्न थालेको प्रयासलाई ऐतिहासिक भने। नेपाली सांगीतिक इतिहासमा पहिलो पटक एकैसाथ सात प्रदेशका मौलिक गीतलाई व्यावसायिक र प्राज्ञिक रूपमा सार्वजनिक गर्नु आफैँमा उदाहरणीय उपलब्धि भएको उनीहरूको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले प्रज्ञा प्रतिष्ठानले संस्कृति संरक्षणमा गरेको प्रयासको प्रशंसा गर्दै सरकारबाट आवश्यक सहयोग र सहकार्यको प्रतिबद्धता जनाएका थिए। उनले कला र संस्कृति क्षेत्रको विकासले राष्ट्रिय पहिचानलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै यस्ता आयोजनालाई नियमितता दिनुपर्ने बताए।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पहिलो पटक सातै प्रदेशका सांस्कृतिक विविधतालाई समेटेर गीतहरू सार्वजनिक गर्नु नेपाली संगीत क्षेत्रमा ऐतिहासिक प्रयास हो। यसले संगीतमार्फत राष्ट्रिय एकता र पहिचान सुदृढ गर्ने दिशामा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend