२१ असार, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) ले नेपाल, भारत र भुटानमा प्रयोग गर्न मिल्ने नयाँ भिसा क्रेडिट कार्डको सुविधा सार्वजनिक गरेको छ। सुरक्षित, सजिलो र आधुनिक डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले यो कार्ड सञ्चालनमा ल्याएको हो।
बैंकका अनुसार नयाँ क्रेडिट कार्डले एटीएम र पिओएस (POS) दुवैमा प्रयोग गर्न सकिने सुविधा दिन्छ, साथै नेपाली रुपैयाँमा हुने अनलाइन कारोबार पनि सहजै गर्न सकिनेछ। क्रेडिट कार्डको प्रमुख विशेषतामा नेपाल, भारत र भुटानभर मान्य हुनु, पिओएस र एटीएमबाट सजिलो प्रयोग, क्रेडिट लिमिटको १० प्रतिशतसम्म नगद झिक्न सकिने सुविधा, कम ब्याजदर र कमिसन, खरिदमा अधिकतम ४५ दिनसम्म ब्याजमुक्त अवधिको व्यवस्था, र ५ वर्षको मान्यता जस्ता सुविधा रहेका छन्।
आरबिबीको भिसा क्रेडिट कार्डमा न्यूनतम २० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्म क्रेडिट लिमिट राखिएको छ। प्रत्येक अंग्रेजी महिनाको २३ तारिखमा बिलिङ हुने र भुक्तानीको अन्तिम म्याद त्यसको १५ दिनपछि अर्थात् अर्को महिनाको ८ वा ९ तारिखसम्म तोकिएको बैंकले जनाएको छ।
बैंकले यो कार्डमार्फत डिजिटल भुक्तानीलाई अझ सहज र सुरक्षित बनाउने लक्ष्य लिएको छ, जसले देशभित्र र छिमेकी मुलुकमा समेत आर्थिक कारोबारलाई थप सरल बनाउने विश्वास व्यक्त गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend