सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

२१ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्नु भएको छ। बेलायत–नेपाल चेम्बर अफ कमर्स र लन्डनस्थित नेपाली दूतावासको संयुक्त आयोजनामा लण्डनमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा नेपालमा अपार अवसर रहेको बताउँदै बेलायती व्यवसायीहरुलाई लगानीको निम्ति आमन्त्रण गर्नुभएको हो।

कार्यक्रममा दुवै देशका व्यापारी, लगानीकर्ता र नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अध्यक्ष ढकालले नेपाल–बेलायतबीच २ सय वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध रहेको स्मरण गर्दै गोरखा सैनिक, विकास सहयोग, शिक्षा र व्यापारमा बेलायतको योगदानको चर्चा गर्नुभयो। यो सम्बन्धलाई व्यापार र लगानीको माध्यमबाट अझ प्रगाढ बनाउनुपर्ने उहाँको जोड थियो।

नेपालको रणनीतिक भौगोलिक अवस्थिति, युवा जनशक्ति, कम श्रम लागत, विस्तार हुँदै गरेको मध्यम वर्गको उपभोग क्षमता लगायत कारणले नेपालमा लगानीमैत्री वातावरण बनेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालमा ४० हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्ने क्षमता रहेको बताए। स्वच्छ र हरित ऊर्जाका क्षेत्रमा बेलायती कम्पनीलाई सहभागी हुन आमन्त्रण गर्दै उहाँले भविष्यमा स्वच्छ ऊर्जा नै प्राथमिकता हुने स्पष्ट पार्नुभयो।

सूचना प्रविधिमा नेपाली युवाको दक्षता नेपाललाई डिजिटल सेवा र आईटी आउटसोर्सिङको प्रतिस्पर्धी केन्द्र बनाउन सक्षम रहेको भन्दै अध्यक्ष ढकालले लगानीकर्तालाई आवश्यक सहजीकरण र स्थिर वातावरण उपलब्ध गराउन महासंघ प्रतिवद्ध रहेको बताउनुभयो।

नेपाल र बेलायतबीचको सम्बन्ध प्रगाढ बनाउन बेलायतस्थित नेपाली समुदायको भूमिका प्रशंसनीय रहेको बताउँदै उहाँले नेपाली उत्पादनको बजारिकरण र पर्यटन प्रवर्द्धनमा समुदायले थप भूमिका खेल्नसक्ने धारणा राख्नुभयो। कार्यक्रममा सहभागिहरूले नेपाल र बेलायतबीच व्यापार, लगानी र सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend