१७ असार, काठमाडाैं । उपभोक्तालाई गुणस्तरीय पिउने पानी उपलब्ध गराउने उद्देश्यले काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा मापदण्ड नपुगेका ४४ वटा पानीका जार फेला पारेको छ ।
महानगरको कृषि तथा पशुपन्छी विभागले गोङ्गबु बसपार्क क्षेत्र वरपर प्रशोधित पानी बोक्ने २८ वटा सवारी साधनको निरीक्षण गर्दा कुच्चिएका, फुटेका र अपारदर्शी जार प्रयोग गरिएको पाइएको महानगरले जनाएको छ । फेला परेका ती जारहरू जफत गरी नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ ।
त्यसैगरी, अनुगमनका क्रममा त्रुटि देखिएका पानी व्यवसायीहरूलाई मापदण्ड विपरीतका जार नबितरण गर्न, जारमा स्पष्ट विवरणसहितको लेबल राख्न र बिल-बिजकसहित कारोबार गर्न कडाइका साथ निर्देशन दिइएको छ ।
महानगरले जनस्वास्थ्यलाई जोखिममा पार्ने पानीजन्य संक्रमण रोक्न व्यवसायीहरूलाई अझै सचेत बन्न र मापदण्डको पूर्ण पालना गर्न आग्रह समेत गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend