१७ असार, काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारबाट फर्केका नेपालीहरूले विदेशमा सिकेका ज्ञान, सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपालमै रोजगारीको वातावरण बनाउन सरकारले ठोस प्रयास गरिरहेको उल्लेख गर्दै फर्केका युवाको सीप र पूँजीलाई व्यवसायमा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री भण्डारीले विगतमा मन्त्रालयले वैदेशिक रोजगारलाई मात्र प्रोत्साहन गर्ने काम गरे पनि अहिले फर्केका कामदारको सीप र पूँजीलाई उद्यमशीलतामा लगानी गराई मुलुकमै रोजगारी सृजना गर्ने र अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यअनुसार नीति तय गरिएको जानकारी दिनुभयो ।
यसैक्रममा, सरकारले आन्तरिक रोजगारी प्रवर्द्धनलाई प्राथमिकता दिँदै आगामी दशकलाई ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’का रूपमा मनाउने निर्णय अनुसार मन्त्रालयमा आन्तरिक रोजगार महाशाखा स्थापना गरेको पनि उहाँले बताउनुभयो । महाशाखाले रोजगारीका अवसरमा आवश्यक जनशक्ति तयार पार्ने, सीप विकास गर्ने र निजी क्षेत्रसँग सहकार्य गरी तालिम दिने काम थालेको उहाँको भनाइ छ ।
मन्त्री भण्डारीले हालसम्म मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यवसायिक प्रतिष्ठानले होटल एसोसिएसन नेपाल, कम्प्युटर एसोसिएसन नेपाललगायत १३ संस्थासँग सहकार्यको सम्झौता गरिसकेको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम सुरु गरेका ८ जना उद्यमीलाई राष्ट्रिय उद्यमी पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend