बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेपाली कांग्रेस भोजपुरको ‘स्वाभिमानी योद्धा’हरुलाई सम्मान

नेपाली कांग्रेस भोजपुरको ‘स्वाभिमानी योद्धा’हरुलाई सम्मान

५ साउन , ललितपुर । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति भोजपुरले पार्टीमा विभिन्न किसिमले योगदान पुर्याउने भोजपुर जिल्लाका नेपाली काङ्ग्रेसका विभिन्न पुस्ताका ‘स्वाभिमानी योद्धा’ हरुलाई सम्मान गरेको छ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाको प्रमुख र नेपाली काङ्ग्रेस भोजपुर जिल्ला कार्यसमितिका सभापति विनोद वान्तवाको सभापतित्वमा ललितपुरमा आयोजित विशेष समारोहमा उक्त सम्मान प्रदान गरिएको हो।

समारोहमा नेपाली काङ्ग्रेसमा लागेर योगदान दिने पहिलो पुस्ताका स्व. रामप्रसाद राई, स्व. बलबहादुर राई लगायत देखि दोस्रो पुस्ताका स्व. गोपाल कोइराला , स्व. हरिप्रसाद नेपाल , स्व. लोक ब. बल लगायत अनि पछिल्लो पुस्ताका प्रा. गोविन्दमान सिंह कार्की , रोसा बस्नेत लगायतलाई सम्मान गरेको हो।

कार्यक्रममा महामन्त्री थापाले नेपाली काङ्ग्रेस जस्तो पुरानो पार्टीमा आवद्ध हुनु नराम्रो नभएको बताए । स्वतन्त्र रहन र नयाँ पार्टीमा आवद्ध हुन चाहना राख्ने नयाँ पुस्ताका युवाहरूलाई लक्षित गर्दै थापाले काङ्ग्रेस इतिहास लामो भएको र भविष्यको समेत नेतृत्व गर्नसक्ने बताए।

उनले नेकपा एमालेसङ्ग काङ्ग्रेसको अहिलेको सहमति र सत्ता गठबन्धन माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अस्थिर र बढी चकचक गर्ने गरेको कारणले गर्दा हुनुपरेको बताए। उनले अबको दुई वर्ष कांग्रेसले ढुक्कसँग प्रधानमन्त्री ओलीलाई काम गर्न दिने बताए ।

दुई ठूला दल मिलेर स्थिर सरकार बन्नुमात्र ठूलो कुरा नभएको भन्दै थापाले यसबाट नागरिकले के लाभ पाउँछन् त्यो ठूलो कुरा भएको बताए । यो स्थिरताको लाभ अर्थतन्त्र र सुशासनमा देखिनुपर्ने उनको भनाइ छ । उनले विदेश पलायन हुँदै गरेको युवापुस्तामा देशभित्र पनि भविष्य छ भनेर आशा जगाउनुपर्नेमा जोड दिए।

उनलेे केन्द्रमा २०० जनाको मात्रै संसद र १० जनाको मन्त्रीपरिषद तथा प्रदेशमा ५ जनाको मन्त्रीपरिषद हुने गरि संविधान संशोधन गर्नुपर्ने बताए। यसबाट समावेशीतामा कुनै नराम्रो असर नपर्ने उनले बताए। अहिलेको खर्चिलो र नाममात्रको संघीयता चल्न नसक्ने पनि उनले बताए।

त्यस्तै , आगामी २०८४ सालको निर्वाचन काङ्ग्रेसले कुनैपनि पार्टीसंग गठबन्धन नगरी लडने र मुख्य प्रतिस्पर्धा एमालेसंगै हुने उल्लेख गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend