२५ असार , काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मंगलबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको सबै पदीय जिम्मेवारीबाट हटाएको छ ।
पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री , पार्टी प्रवक्ता, र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। ऊनी रास्वपाको साधारण सदस्यमा भने कायमै रहेका छन् ।
असार १९ गतेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी अनुशासनको सन्दर्भमा महामन्त्री तथा प्रवक्ता ढकाललाई गरिएको निलम्बन र त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानबिन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन दिएको निर्देशन दिएको थियो । सोही बमोजिम केन्द्रीय अनुशासन आयोगबाट असार २३ गते प्राप्त प्रतिवेदनमाथि केन्द्रीय समितिमा गहन छलफल भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

‘केन्द्रीय समितिको छलफलका आधारमा ढकालबाट पार्टीको आचारसंहिताको दफा ४ को (१) को क, ख, च, प र फ एवम् दफा चार २ को (४), दफा (५) को क र ख, दफा ६ को क र ख, दफा ९ को क, ख ग र घ समेतको उल्लङ्घन भएको ठहर तथा सोबाट पार्टीलाई पुगेको क्षति समेतलाई विश्लेषण गर्दै केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने भन्ने सिफारिसलाई ध्यानमा राखी निजलाई पार्टीको विधानको धारा ५६को (३) बमोजिमको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरियो,’ कार्यवाहक प्रवक्ता झाले भने।
त्यससँगै , अनुशासन आयोगमा पुनरावेदन गर्नका लागि ढकाललाई ३५ दिनको समय दिने निर्णय पनि रास्वपाले गरेको छ । त्यस्तै, ढकालको समीक्षा यात्रा प्रतिवेदनको स्वामित्व भने पार्टीले नलिने भएको छ । प्रतिवेदन पार्टीमा पेस गरेर छलफल चलाउनुपहिल्यै सार्वजनिक गरेको भन्दै उक्त प्रतिवेदनको स्वामित्व नलिने रास्वपाले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend