शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

२३ मेगावाटको ‘मेवा खोला जलविद्युत’ मा लक्ष्मी ,नबिल र हिमालयन बैंकको साढे तीन अर्ब ऋण लगानी

२३ मेगावाटको ‘मेवा खोला जलविद्युत’ मा लक्ष्मी ,नबिल र हिमालयन बैंकको साढे तीन अर्ब ऋण लगानी

खबरब्रेकिंग,काठमाडौं, असार २० गते । २३ मेगावाटको मेवा खोला जलविद्युत आयोजनाका निर्माणका लागि वित्तीय लगानी जुटेको छ ।युनियन मेवा हाइड्रो लिमिटेडको आयोजनामा लक्ष्मी बैंक लिमिटेडको अगुवाईमा नबिल बैंक र हिमालयन बैंक लिमिटेडले लगानी गर्ने टुंगो लागेको छ । वित्तीय व्यवस्थापनका लागि प्रवर्द्धक युनियन मेवा हाइड्रोपावर कम्पनी र तीन बैंकबीच सम्झौता भएको छ । असार १९ गते मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका अध्यक्ष किरण मल्ल र लक्ष्मी बैंकका डेपुटी कार्यकारी अधिकृत सुमित भट्टराईले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यसअघि, नबिल बैंकका पुष्कर भट्टराई र हिमालयन बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

हस्ताक्षर कार्यक्रममा कम्पनीका अध्यक्ष मल्लले समय र बजेटभित्र आयोजनाको काम पूरा गरेर विद्युत उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतिकूल परिस्थितिमा पनि जलविद्युतमा लगानी गर्न बैंकहरू पछि नपरेको उनको भनाइ थियो ।

कोशी प्रदेशको ताप्लेजुङको मिक्वाखोला गाउपालिका वडा नं ५ मा अवस्थित सो आयोजनाका लागि ऋण लगानी जुटेको हो । करिब ४ अर्ब ७० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब ५२ करोड रुपैयाँ बैंकहरूमार्फत र १ अर्ब १८ करोड रुपैयाँ सेयरधनीहरू मार्फत लगानी हुनेछ । ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजि लगानी रहने आयोजनामा अगुवा लक्ष्मी बैंकले १ अर्ब ५२ करोड, नबिल र हिमालयन बैंकले १–१ अर्ब रुपैयाँ लगानी गर्नेछन् । विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट वार्षिक १३६.७९ गिगावाट घन्टा (१३ करोड ६७ लाख ९० हजार युनिट) विद्युत उत्पादन भई पहिलो वर्ष करिब ८१ करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जानकारी दिएको छ ।

आयोजनाबाट उत्पादित विद्युत विद्युतगृहदेखि करिब ५ किलोमिटर दूरीसम्म १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत निर्माणाधीन १३२÷२२० केभी सबस्टेसनमा जोडिनेछ । कोसी प्रदेश ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपालिका–५ स्थित खेस्तेम्बेमा बाँध निर्माण गरी १५३६ मिटर पेनस्टक पाइपमार्फत सोही गाउँपालिकाको छेरेक्मामा निर्माण हुने सतही विद्युतगृहमा खसालिनेछ ।

अहिलेसम्म आयोजना निर्माणस्थलसम्म निर्माण गर्नुपर्ने १३ किलोमिटर पहुँचमार्ग मध्ये ११.५ किलोमिटर सम्पन्न भइसकेको हेडवक्र्स र विद्युतगृहमा आवास निर्माण भइसकेको कम्पनीले जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरणसँग भएको पिपिए अनुसार २०८२ पुस १४ गतेका विद्युत उत्पादन गर्नुपर्ने समय तोकिएको छ ।

कम्पनीका अनुसार ८९३ मिटर ग्रस हेट रहेको आयोजनाको डिजाइन डिस्चार्ज ३.१५ क्यूसेक रहेको छ । कम्पनीको सञ्चालकहरूमा अध्यक्ष मल्ल सहित वृन्दावनमान प्रधानाङ्ग, विकेश प्रधानाङ्ग र अविज्ञा मल्ल रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend