शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मन्त्री शर्माले भने – असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाऔँ, बजेटको कमी हुँदैन 

मन्त्री शर्माले भने – असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाऔँ, बजेटको कमी हुँदैन 

 

काठमाण्डौ । अर्थ मन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आउँदो असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन ।

बुधवार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग अर्थ मन्त्रालयमा छलफल गर्ने क्रममा उनले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न आग्रह गरे । खोप खरिदका लागि बजेटको कुनै कमी हुन नदिने भन्दै मन्त्री शर्माले जुन–जुन देशबाट खोप लिन सकिन्छ, अहोरात्र वार्ता गरी खोप भित्र्याउन भने ।

असोजभित्र खोप दिन सकिएन भने देशको अर्थतन्त्रसमेत धरापमा पर्न सक्ने भन्दै उनले खोप खरिदका लागि बजेटको कमी हुन नदिने बताए । देशको अर्थतन्त्र नागरिकको प्राणसँग जोडिएकाले विकास निर्माणका लागि विनियोजन गरिएको बजेटसमेत रकमान्तर गरेरै भए पनि खोप खरिदमा लगाइने प्रतिबद्धता व्यक्त गरे । मन्त्री शर्माले प्राप्त भएका खोपसमेत लक्षित समुदायलाई दिने कार्यमा ढिलाइ भएकोमा असन्तुष्टि व्यक्त गरे ।

छलफलमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने प्रतिक्रिया दिए । उनले सम्भव भएसम्म चाँडो खोप खरिद गर्ने काममा कुनै ढिलाइ नहुने बताए । प्राप्त भएका खोप लगाउनका लागि कार्ययोजना बनाइएको र अब योजनाबद्ध रूपले खोप कार्यक्रमले गति लिने विश्वास राज्यमन्त्री श्रेष्ठले दिलाए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend