फाइल फोटो
काठमाण्डौं । नेकपा एमाले प्रवेश गरेका चारजना पूर्वमाओवादीका नेताले सांसद् पद पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।
बुधबार सर्वोच्च अदालतमा सांसद् पदको पुनःबहालीको माग गर्दै दायर गरेको रिटमा टोप बहादुर रायमाझीले आफूले औपचारिकरुपमा एमाले प्रवेश नगरेको उल्लेख गरेका छन् ।
“केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा (एमाले)मा आजसम्म म निवेदक औपचारिकरुपमा प्रवेश गरेको छैन, एमाले पार्टीको सदस्यता लिएको छैन,” उनले रिट निवेदनमा उल्लेख गरेका छन्,“मिति २०७८ असार २३ गते मैले निर्वाचन आयोगबाट निवेदन गरी निकालेको प्रतिलिपिअनुसार नेकपा एमाले केन्द्रीय कमिटीको सदस्यमा म छैन ।”
नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेको केपी ओली नेतृत्वमा जाने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीलाई कारबाही गरेको थियो । सांसद् पद र पार्टीको सदस्यबाटै निष्कासित गरेपछि सो को जानकारी संसद् सचिवालयलाई दिएको थियो । माओवादी केन्द्रबाट निर्वाचित सांसद् पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि संसद् सचिवालयले रायमाझीलाई गएको चैत २६ गते सांसद् पदबाटसमेत हटाएको थियो ।
उनीसँगै माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साहले पनि सांसद् पदको पुनःवहालीको माग गर्दै रिट निवेदन पेस गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend