काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा देखिएको विवाद कुनै पदीय लोभको लागि नभएको प्रष्ट पारेका छन । पार्टी अध्यक्ष केपी शर्मा ओलीको दम्भ, अहंकार र स्वोच्छाचारी प्रवृत्तीका कारण पार्टी भित्र संकट गहिरिएको बताउँदै वरिष्ठ नेता नेपालले ओली नसच्चिदासम्म संघर्ष जारी हुने बताए ।
अखिल नेपाल किसान महासंघले राखेको भर्चुअल कार्यक्रममा सोमबार मन्तव्य राख्दै नेता नेपालले पछिल्लो समय आफुलाई दोस्रो अध्यक्ष दिएर भएपनि पार्टी मिलाउने कोशिस गरिएको भन्दै आपत्ति जनाए । आफुले कुनै पद र प्रतिष्ठाका लागि संघर्ष नगरेको भन्दै दोस्रो अध्यक्ष आफु नबन्ने घोषणा गरे । ‘मलाई दोस्रो अध्यक्ष दिने भनेर छलफल चल्न थालेको छ । म पदको लागि जे पनि गर्ने व्यक्ति होइन् । यदि दोस्रो अध्यक्ष बन्दा वित्तिकै माधव नेपाल पदको लागि जसो पनि गर्छ भन्ने प्रचार गरिनेछ, नेता नेपालले भने , ‘म दोस्रो अध्यक्ष बन्न तयार छैन् । बरु तपाईहरु बीचबाट कोही अध्यक्ष बन्नुस मेरो सहयोग रहन्छ भनेर स्थायी कमिटीका कमरेडहरुलाई भनेको छु ।’
पछिल्लो समय ओली समूहबाट नेता नेपाललाई अध्यक्ष दिएर भएपनि पार्टी मिलाउनुपर्ने आवाज उठेको छ । १० सदस्यिय कार्यदलबाट पनि माधव नेपाललाई अध्यक्ष बनाएर पार्टी एकता गर्नुपर्ने प्रस्ताव आएको छ ।
दुई तिहाईको कम्युनिष्ट पार्टीको जनमत समाप्त पार्ने ओलीसंग कुनै पनि पदमा सम्झौता नहुने उनले प्रष्ट पारे । पार्टी एकता विरोधी आफु नभएको भन्दै ओलीका कुरामा त्यत्तिकै सहमति गर्न नसकिने बताए । आजसम्म ओलीले गरेका गल्तिको गहिरो समिक्षा गर्न जरुरी भएको भन्दै उनले अबको एक हप्ता भित्र पार्टी भित्रको विवाद वार कि पार हुने प्रष्ट पारे । २ सय बढी नेता कार्यकर्ता माझ बोल्दै पार्टीलाई क्रान्तिकारी बनाउने गरी मैदानमा खट्न उनले निर्देशन दिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend